‘पार्टीमा फुट आयो भने जनतासमक्ष के भन्‍ने ?’



काठमाडौँ : नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीका बलिया खम्बा हुन् । ओली पक्षीय भेला र हरेकजसो संवादमा उनी छुट्दैनन् ।

सहमतिका लागि दुई दिन स्थायी कमिटी बैठक स्थगित गरेर अनौपचारिक संवाद थालेको नेकपाभित्र भइरहेको छलफलको प्रगतिबारे नेम्वाङसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

हामीले केही साथीहरूलाई अनौपचारिक कार्यदलजस्तो बनाएर सहमतिको आधार खोज्न जिम्मा लगाएका छौं । उहाँहरू यसमा निरन्तर कार्यरत हुनुुहुन्छ । छलफल चलिरहेको छ, त्यो एकदम ठीक भइरहेको छ भन्ने लागिरहेको छ, तर कुरा टुंगिएको छैन ।

तपाईंहरू विभिन्न पक्षीय छलफलमै हुनुहुन्छ, धेरैजसो छलफलमा तपाईं पनि सहभागी हुनुहुन्छ । अहिले छलफल कुन बिन्दुमा पुगेको छ ?

हिजोअस्ति हामी कुन अवस्थामा थियौं, त्यो मैले भनिराख्नै पर्दैन । अहिले हामी छलफल गरिरहेका छौं र त्यो छलफलको परिणाम पर्खेर हाम्रा बैठक स्थगन गरेका छौं । त्यसबाट यो छलफल सकारात्मक ढंगले हार्दिकतापूर्वक अघि बढिरहेको छ भन्ने प्रस्ट हुन्छ । हामीले, हाम्रो पार्टीले र हाम्रा अध्यक्षहरूले कार्यकर्ता र जनतासमक्ष प्रतिबद्धता व्यक्त गरेर यहाँसम्म आइपुगेका हौं । अब पार्टीमा टुटफुट आयो भने जनतासमक्ष हामी के भनेर जान्छौं, कार्यकर्तालाई के भन्छौं, यो गम्भीर प्रश्न सोचनीय छ । यसको जवाफ दिन हामीलाई अप्ठ्यारो पर्नेछ । यो कुरा बुझेका पार्टी र नेताहरूले यसलाई निष्कर्षमा पुर्‍याउँछन् भन्ने विश्वास छ ।

प्रधानमन्त्रीचाँहि अहिले कस्तो मनस्थितिमा हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू अनि हाम्रा अर्का अध्यक्ष दुवै जना अहिले एकीकरणपश्चात् पार्टीको जीवनमा यो निकै गम्भीर र चुनौतीपूर्ण अवस्था आएको हो भन्ने स्वीकार गर्नुहुन्छ । साथसाथै हाम्रा लागि यो अवसर हो र यो अवसरलाई सदुपयोग गर्दै हामी सकारात्मक टुंगोमा पुग्नुपर्छ, वार्ता र संवादबाहेक हाम्रा लागि विकल्प छैन, त्यसैले जति समय लागोस् संवाद गरेरै यसलाई टुंगोमा पुर्‍याउनुपर्छ भन्ने उहाँहरूको मनस्थिति मैले देखेको छु ।

स्थायी कमिटीमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा नै उठेको छ । प्रधानमन्त्रीले राजीनामा दिन्न भनेर अडान राख्नुभएकै छ । त्यसो हुँदा तपाईंले देखेको निकास के हो ?

मैले देखेको निकास भनेर अहिले भन्नु उपयुक्त हुँदैन, किनभने एउटा अनौपचारिक कार्यदल बनेर काम गरिराखेको छ । म यति भन्छु पार्टी एकता गरेर यो ठाउँसम्म आएका नेताहरू र पार्टीले यसलाई वार्ता र संवादमार्फत निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा हाम्राबीचमा विवाद छैन । हामीले यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।

निष्कर्ष ठ्याक्कै के निस्किएला भन्ने प्रश्न जताततै छ नि ?

सकारात्मक निष्कर्ष हुन्छ । जे हुन्छ, दुइटा अध्यक्षबीचको सहमतिबाट निस्किन्छ ।

त्यो भनेको राजीनामा दिने विषयमा सहमति पनि हुन सक्ने भयो ?

निष्कर्ष भनिसकेपछि दुई अध्यक्षले सहमति गरेको जुनसुकै निष्कर्ष भन्ने बुझिन्छ ।

राष्ट्रपतिलाई महाअभियोग लगाइँदै छ भनेर हिजो प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरेको ब्रिफिङबारे तपाईंको भनाइ के हो ?

त्यो प्रधानमन्त्रीज्यूले ल्याउनुभएको कुरा होइन । महाअभियोग, अविश्वास प्रस्ताव जस्ता प्रसंग बजारमा आएका छन् । बजारमा त मध्यावधि निर्वाचन, दल टुटफुटसम्बन्धी थुप्रै प्रसंग आएका छन् । लोकतन्त्रमा यस्ता प्रसंग आउँदा रहेछन् । त्यसमा म धेरै टिप्पणी गर्न चाहन्नँ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि तपाईंले भेट्नुभयो, त्यहाँ के छलफल भयो ?

उहाँसँग बिहान १० बजे मैले उहाँकै निवासमा भेटेको थिएँ । साथमा मीनेन्द्र रिजालजी पनि हुनुहुन्थ्यो । हामी अहिले देशमा संसदीय प्रणाली हाँकिरहेका छौं । संसदीय प्रणालीमा प्रतिपक्षलाई राज्यको अभिन्न अंगका रूपमा मान्यता दिने चलन हुन्छ । त्यही भएर हामीले कांग्रेसलाई संवैधानिक परिषद्मा सदस्यका रूपमा व्यवस्था गरेका छौं । प्रतिपक्षले पनि छाया सरकार बनाएर प्रत्येक मन्त्रालयमा छाया मन्त्री राखेर निरन्तर अनुगमन गर्ने र टिप्पणी सार्वजनिक गर्ने गरिरहेको छ । यही मान्यताअनुरूप हामीले उहाँहरूसँग निरन्तर वार्ता र संवादमा रहनुपर्छ भनेका छौं । प्रधानमन्त्रीजीले पटकपटक कांग्रेसका नेतासँग छलफल गर्नुभएको छ । अस्ति भर्खरै पनि उहाँहरूको भेटघाट भएको छ, यही सन्दर्भमा समसामयिक विषयमा उहाँहरूलाई ब्रिफिङ गरौं, उहाँहरूसँग कुराकानी गरौं भनेर समय लिएर म गएको हुँ ।

सरकार फेरिने अवस्था आउँदा साथ दिन प्रतिपक्षीलाई आग्रह गरिएको र यहाँ त्यही कुरा गर्न प्रधानमन्त्रीको दूत बनेर भेट्न जानुभएको भन्ने कुरा पनि आएको छ नि ?

नेकपाको एउटा इमानदार कार्यकर्ताको हिसाबले म त्यहाँ प्रधानमन्त्रीजीको अनुमति लिएरै गएको हुँ, त्यसमा विवादै छैन । तर सरकार गठनको छेउछाउ पनि कुरा गरिएन । सञ्चारमाध्यमले माया गरेर नेकपालाई घरी कसको प्रतिपक्षसँग सरकार बन्ने भइसक्यो, कार्यदल पनि बनेको छ भनेर लेखिदिन्छन् । तर त्यस्तो फिटिक्कै होइन, समसामयिक सन्दर्भमा छलफल हो र यो छलफलले निरन्तरता पाउँछ ।

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्