६३ जना वरिष्ठ सहसचिवको सरुवा



काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ ।

वरिष्ठ सहसचिवहरुलाई काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई विभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शोभाकान्त पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कामकाजको लागि खटाइएको छ ।

यसैगरी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी चन्द्रकला पौडेललाई गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र गृह मन्त्रालयका राजेश पौडेललाई हेटौंडा उपमहानगरपालिकामा कामकाजका लागि खटाइएको छ ।

यसैगरी उद्योग मन्त्रालयकै प्रदीपराज अधिकारीलाई जितपुर सिमरा उपमहानगरपालिकामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका महेश बराललाई पोखरा महानगरपालिकामा, श्रम मन्त्रालयका रामचन्द्र ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा खटाइएको छ ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्