बालिका बलात्कार गरि हत्या गर्ने आरोपित दिपु सिंह पक्राउ



जनकपुरधाम : धनुषामा ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरि हत्या गरिएको घटनाका मुख्य आरोपि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि घटनाका आरोपित एक भारतीय नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

घटनाका मुख्य आरोपि भारतको उत्तरप्रदेश राज्यको मलिहावाद जिल्लास्थित काकोरी ग्राम पञ्चायत काकोरी वडा नम्बर–११ पिन नम्बर ८१३१०९ गाउँ बण्डाखेर बस्ने अशोक सिंहका ३२ वर्षीय छोरा दिपु सिंहलाई आइतबार पक्राउ गरि प्रहरीले सोमबार बिहान सार्वजनिक गरिएको छ ।

यसरी घटेको थियो घटना

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थास्थित चौधरी र मिश्र इन्डष्ट्रिजमा करिव ४÷५ महिना अगाडीदेखि काम गर्दै आएका सिंह असार १७ गते बुधबार सोही इन्डष्ट्रिजमा आँप टिप्न गएकी बालिका कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाई ललाईफकाई सोही इन्डष्ट्रिजको पछाडीपट्टी बगैंचाको एकान्त कुनामा लगी बलात्कार पश्चात मुख थुनेर हत्या गरि मृतकको शवलाई बल्यांकेटमा बेरेर दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा फालि सो बल्यांकेट बालिकाको शवदेखि ५० फिटको दूरीमा दिलिप चौधरीको धानबाली खेतमा फालि माथिबाट माटोले पुरेका थिए ।

घटनाका अभियुक्त सिंहलाई खोजतलाशको क्रममा असार २१ गते शुक्रबार सोही इन्डष्ट्रिजबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा आफुले नै घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

मृतक बालिकाकी पिता बिनोद पजियारले नेपालमा यस्ता अपराधीलाई मृत्यु दण्डको सजाय नरहेकोमा दुःख व्यक्त गर्दै हदैसम्मको कडा कारवाहीको माग गरेका छन् । सिंहलाई जबरजस्ती करणी गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएकाले म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्