बालुवाटारबाट प्रफुल्ल मुद्रामा बाहिरिए प्रचण्ड



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रफुल्ल मुद्रामा बाहिरिएका छन् ।

सोमबार बिहान ९ः३० बजेदेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘वान टू वान’वार्ता सकेर अध्यक्ष प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दाबी छ । तर, दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । 

सोमबार बिहानका लागि सारिएको पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थगित गरेर दुई अध्यक्ष विवाद समाधानको प्रयासमा लागेको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

यसअघिका छलफलमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान दोहो-याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

आइतबार दिउँसो आ–आफ्ना पक्षका दुई–दुई नेताहरुसहित दुई अध्यक्षबीच भएको वार्ता निश्कर्षबिना टुंगिएको थियो ।

पार्टीको एकता बचाउन युवा नेताहरुको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरु फेरि छलफलमा जुटेका हुन् । दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु एकता बचाउन सक्रिय भएका छन् । उनीहरुले दुवै पक्षका नेताहरुलाई भेटेर मनाउने र सम्झाउने काम गरिरहेका छन् । घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहितका युवा नेताहरू यतिबेला एकता बचाउनका लागि दुवै पक्षसँग सम्मवादमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समितिले दवाव दिँदैमा आफूले पदबाट राजीनामा नदिने बरु जस्तोसुकै परिस्थिति पनि सामना गर्ने बताएपछि अवस्था झन् जटिल बनेको हो । सचिवालयका बहुमत सदस्य र स्थायी समितिका बहुमत सदस्यहरुले ओलीको राजीनामा मागेपछि आन्तरिक कलहले उग्र रुप लिएको हो।

आइतबार पनि बिहानदेखि बेलुकासम्म नेकपाका नेताहरु आन्तरिक छलफल र परामर्शमा जुटेका थिए । आइतबार तीनजना शीर्षहरू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । राष्ट्रपतिले पनि पार्टीको आन्तरिक झगडा बढी उचालेर अस्थिरता ननिम्त्याउन सुझाव दिँदै मिलेर अघि बढ्न सल्लाह दिएकी थिइन् ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्