मास्क प्रयोग नगर्ने १३६ जना प्रहरी नियन्त्रणमा



जनकपुरधाम : धनुषा प्रहरीले कोरोना महामारी फैलिरहेको बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी सुरु गरेको छ । जनकपुरका विभिन्न चोकहरुमा दर्जनौं संख्यामा प्रहरी परिचालन गरि मोटरसाइकल, पैदल र रिक्सामा बिना मास्क हिडिँरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाइदैछ ।

कोरोना संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त निर्देशनानुसार मास्क प्रयोग नगर्नेहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

डीएसपी कार्कीले बिना मास्क मोटरसाइकल चलाउने चालक र पैदल हिँडडुल गर्ने यात्रीसहित समाचार तयार पार्दासम्म १ सय ३६ जनालाई नियन्त्रणमा लिइ संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिएको बताए । मास्क प्रयोग नगर्ने उनीहरूलाई संक्रामक रोग ऐनअनुसार प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराएर छाडिएको उनले बताए ।

लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । आजदेखि घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन समितिले आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहलाई नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्