गुरुङ भाषाका आदिकवि हर्कबहादुरको अर्धकदको शालिक बन्ने



काठमाडौं : तमू आदिकवि हर्कबहादुर गुरुङको अर्धकदको शालिक निर्माण हुने भएको छ । शालिक बनाउनका लागि फेदीखोला गाउँपालिकाले तीन लाख बजेट छुट्याएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार जागरण गीत गाउँदै गाउँमा सचेतना फैलाउने तमू आदिकवि हर्कबहादुर गुरुङको सम्मानमा फेदीखोला गाउँपालिकाले शालिक बनाउन लागेको हो ।

फेदीखोला गाउँपालिकाको सोल्मेडाँडामा जन्मेका तमू आदिकवि हर्कबहादुरको ८३ औँ जन्मजयन्ती साल्मेडाँडामै मनाइएको थियो ।

सो सभामै अध्यक्ष सुवेदीले फेदीखोलाको कुनै पनि आकर्षण र रमणीय स्थानमा शालिक बनाउने उद्घोष गरेका थिए ।

क्यूदे थुलेन दुस्ख म्हन वर्ष मुलारी
खैले टिब खैले ह्याब आगुई ह्युलरी
(थोरै पानी खाए पनि दुःख हराउने रहेछ वर्षे मुलको ।
कसरी बस्ने, कसरी जाने विरानो ठाउँमा ।।)

यी पंक्तिका रचनाकार हुन्, तमू क्योई (गुरुङ भाषा) का आदिकवि हर्कबहादुर । जसलाई ‘साल्मे माइला’ भनेर समाजमा चिनिन्छ । वर्तमान तमुवानका एक झर्रा स्रष्टा जसले तमू भाषालाई जगाएनन् मात्र उनी अजर अमर बनेका छन्, समुदायमा ।

१९९३ साल माघ ११ गते देवबहादुर गुरुङ र बुद्धिश्री गुरुङको माहिलो छोराका रूपमा जन्मिएका थिए ।

आदिकवि हर्कबहादुरको पुस्तक कृति हिसाबले एउटै संग्रह छ– ‘गुरुङ्ग लोकगीत ।’ यो पुस्तक पहिलो पटक २०१६ सालमा प्रकाशनमा आएको थियो । करिब तीन दर्जन गुरुङ भाषाका गीत समावेश थिए भने एउटा चाहिं नेपालीमा । त्यसमा दोस्रो संस्करण २०२२ सालमा छापियो । पहिलो संस्करण अप्राप्य छ ।

प्रकाशित : असार २२, २०७७

प्रतिक्रिया दिनुहोस्