देशभर मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह



काठमाडौं : देशभर मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली हुने महाशाखाले जनाएको छ ।

यस्तै बाँकी भू–भागमा सामान्य बदली रहने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ । देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद कँडेलले बताइन् ।

यसैगरी राति पनि देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित : असार २३, २०७७

प्रतिक्रिया दिनुहोस्