काठमाडौंमा संक्रमण समुदाय स्तरमा फैलिँदै, के गर्दैछ सरकार ?



काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमितको संख्या थपिँदै गएको छ ।

सोमबारमात्र काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरि ५४ नयाँ संक्रमित थपिएका हुन् । यस हिसाबले हेर्ने हो भने काठमाडौंमा संक्रमण समुदाय स्तरमा फैलिसकेको अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरि उपत्यकामा सोमबार सम्म दुई सय ३९ जना संक्रमित छन् ।

ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । त्यस्तै ललितपुरमा १ र काठमाडौंमा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ७५ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको इडीसीडीले जानकारी दिएको छ ।

त्यस्तै पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्यको कोभिड युनिट भएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ ।

त्यसोत घना बस्ती भएको काठमाडौंमा कोरोना संक्रमितहरुको संख्या थपिँदै जानुका साथै ढलमा पनि कोरोना ‘स्ट्रेन’ फेला परेको सार्वजनिक भइसकेको छ ।

सन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्ट सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले उपत्यकाको ढलमा कोरोना भाइरस फेला पारेको हो । यस अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । जसमध्ये दुई ठाउँमा कोभिड–१९को भाइरस फेला परेको हो । उक्त अध्ययनले उपत्यकामा समुदायमा कोरोना संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्याले बताए ।

काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय राजधानीमा परीक्षण बढाउने तयारी गरिरहेको बताएको छ ।

विभिन्न देशहरूबाट नेपाल फर्कन चाहनेहरूको उद्धार जारी रहेको तथा लकडाउन समेत खुकुलो पारिएको अवस्थामा सर्वसाधारणहरूबाट कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भनेर तोकिएको मापदण्डको पालना नहुँदा राजधानीमा संक्रमितहरुको संख्या बढेको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारी बताउँछन् ।

संक्रमितहरु प्रायःले यात्रा गरेको देखिएको छ । त्यसैले काठमाडौंमा अझै पनि संक्रमण समुदाय स्तरमा फैलिसकेको छ भन्ने अवस्था नरहेको अधिकारीले बताए । तर, स्वतन्त्र विज्ञहरू सरकारी दाबीसँग सहमत छैनन् । उनीहरूले काठमाडौंमा संक्रमण समुदाय स्तरमा पुगिसकेको बताउने गरेका छन् ।

ढलमा भाइरस भेटिएको भएपनि त्यसकै आधारमा समुदायमा संक्रमण फैलिसकेको भन्ने नमिल्ने अधिकारीको भनाइ छ । ‘अन्य देशहरूमा पनि ढलमा भाइरस देखिएका छन् । पछिल्लो रिपोर्टको प्राविधिक पक्ष मन्त्रालयले हेर्ने नै छ । ढलमा भाइरस देखिएकै अवस्थामा समेत त्यो नसरेको उदाहरणहरू धेरै ठाउँमा छन्,’ उनले भने ।

त्यसोत सरकारी तथ्यांक अनुसार काठमाडौं उपत्यकाको जनसंख्या ४० लाखभन्दा बढी छ । घना बस्ती भएका कारण उपत्यकामा विशेष सतर्कता अपनाइनुपर्ने मत विज्ञहरूले राखिरहेका बेला मन्त्रालयले चाँडै ठूलो संख्यामा परीक्षण गर्ने बताएको छ । तर, सरकारले यस अघि असार १५ बाट दैनिक १० हजार परीक्षण गर्ने भन्ने प्रतिबद्धता पूरा गर्न सकेन ।

अधिकारीका अनुसार पछिल्लो समय परीक्षण घटाइएको भन्ने कुराहरु आएकाछन् । क्वारेन्टाइनमा रहेकाहरुको संख्या घट्दै गएको अवस्थामा त्यसो भएको हो ।

प्रकाशित : असार २३, २०७७

प्रतिक्रिया दिनुहोस्