चिनियाँ राजदूतले हाम्रो आन्तरिक मामिलामा चासो नदिएकै जाती !



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद जटिल अवस्थमा पुगेसँगै चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । नेकपाका शीर्षस्थ नेताहरुबीच शक्ति संघर्ष चर्किरहेकै बेला चिनियाँ राजदूत सोही दलका वरिष्ठ नेताहरुसँग गरेको भेटवार्ताबारे सार्वजनिक वृत्तमा विभिन्न अड्कलबाजी गरिँदैछ ।

कतिपयले त्यसलाई सामान्य भेटघाटकै रुपमा हेरिरहेका छन् भने कतिपयले नेकपाभित्र चुलिएको विवाद मिलाउने प्रयासका रुपमा अथ्र्याएका छन् ।

आइतबार बेलुका नेकपाको विदेश विभाग प्रमुख पनि रहेका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधकुमार नेपालसँग राजदूत यान्छीले भेटवार्ता गरेका थिए । त्यसको दुई दिनपछि राजदूत यान्छीले आज (मंगलबार) अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । नेता खनाललाई भेट्न राजदूत यान्छी खनाल निवास डल्लु नै पुगेकी थिइन् । भेटमा दुई देशको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेको चर्चा छ । र, यो आलोचनाको विषय बन्न पुगेको छ ।

सत्तारुढभित्रको विवाद चकिँदा चिनियाँ राजदूतले बढाएको राजनीतिक भेटवार्तालाई महत्वका साथ हेरिएको छ भने राजदूतको सक्रियता अस्वभाविक भएको भन्दै सामाजिक सञ्जालमा विरोध समेत भइरहेको छ ।

त्यसोत गत वैशाख तेस्रो साता पनि सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला पनि एकाएक चिनियाँ राजदूत यान्छी सक्रिय भइन् र विभाजनको संघारमा पुगेको नेकपाभित्र मेलमिलाप भयो ।

राजदूत यान्छीकै सक्रियताका कारण नेकपाको विभाजन टरेको त्यतिबेला टिप्पणी भएको थियो । तर, नेकपाका नेताहरुले यसलाई स्वीकारेका छैनन् । अहिले फेरी नेकपा विभाजनको संघारमा रहेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी हुन् । जसको उद्देश्य नेकपालाई एक हुन दवाव दिनु रहेको बुझिएको छ । तर, चिनियाँ राजदूतको सक्रियताका बारेमा सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्नहरु उठाइएको छ ।

प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ट्वीट गर्दै रिमोटले चलेको गणतन्त्र भनेर टिप्पणी गरेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले चिनियाँ राजदूतको सक्रियतालाई विदेशी हस्तक्षेप भनेका छन् । ओली सरकार र नेकपामाथि हमला गर्दै ट्वीटमा गुरुङले लेखेका छन्–‘चिनियाँ राजदूतको हस्ताक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि ?’

यसैगरी राष्ट्रिय युवा संघको अध्यक्ष राम प्रसाद सापकोटाले चिनियाँ राजदूतलाई हाम्रो आन्तरिक मामलामा चासो नदिएकै जाति भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट् लेख्दै भनेका छन्–‘भारतीय राजदूतले गर्ने नेताको घरदैलो जति मन पर्दैन उति नै चिनियाँ राजदुतले गर्ने घरदैलो पनि मन पर्दैन । हाम्रो आन्तरिक मामलामा चासो नदिएकै जाति !’

यता पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले पनि चिनियाँ राजदूतको सक्रियतामाथि प्रश्न उठाएका छन् । राजदूत यान्छीको सक्रियतालाई आचार्यले फेबिकोल र नेताहरुको कामलाई विदेशी हस्तक्षेप निम्त्याउने कर्मको संज्ञा दिएका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रमुख खड्ग केसीले आन्तरिक राजनीतिमा ‘किचलो बढेका बेला’ चिनियाँ राजदूत यान्छी र नेकपाका नेताहरुबीच भएको भेटवार्ताले विभिन्न अड्कलबाजीले मलजल पाएको बताएका छन् ।

‘मेरो बुझाइमा चाहे उत्तरी वा दक्षिणी छिमेकीको होस् अथवा सात समुद्रपारिको महाशक्तिको किन नहोस्, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप वा सक्रियता कतैबाट पनि हुनुहुँदैन,’ उनले भने–‘अहिले जे देखिएको छ त्यसमा निश्चित रुपमा केही ‘इङ्गेजमेन्ट’को संकेत चाहिँ सबैले अनुमान गरेर सरह मै पनि अनुमान गर्दा गलत नहोला ।’

नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूत यान्छीको सक्रियता कुनै हातलमा ठीक होइन । तर, यसमा नेकपाका नेता तथा कार्यकर्ता भने मौन छन् । जसले चिनियाँ भूमिकालाई आमन्त्रण गरेको छ ।

प्रकाशित : असार २३, २०७७

प्रतिक्रिया दिनुहोस्