आईजीपीमा शैलेश थापा नियुक्त



काठमाडौंः एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ ।

आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन् । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवाली भोलि असार २४ गते अनिवार्य अवकास पाउँदै छन् ।

महानिरीक्षकका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउने गरेका छन् ।

उनीसँग सचिवालयमा बसेर काम गरेको अनुभव पनि रहेको छ । उनले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनी मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्