हरहिसाव सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन



जनकपुरधामः धनुषाको गणेशमान चारनाथ नगरपालिकाले योजनाहरुको हरहिसाव सार्वजनिक नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

सो नगरपालिकाले चालु आर्थिक बर्ष २०७६-७७ मा सञ्चालन गरेको विभिन्न योजनाहरुको सूचना माग्न जाँदा नदिएको तथा हरहिसाव समेत सार्वजनिक नगरेको भन्दै स्थानीयले आज (मंगलबार) पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

गणेशमान चारनाथ नगरपालिका वडा न.२ बस्ने सत्या रायले भने,‘हिसाव मागेपछि वडा न.३ का वडाध्यक्ष सोनेलाल यादवले तिमिहरुलाई जे गर्नु छ गर भन्दै आफुहरुलाई उल्टै धम्की समेत दिएका छन् ।’ नगरपालिकाले सञ्चालन गरेको विभिन्न योजनाहरु अपारदर्शी रहेको र यसमा अधिकांश रकम जनप्रतिनिहरुको गोजीमा गएको उनको आरोप छ । नगरपालिका कार्यालयमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै उनले भने,‘आर्थिक पारदर्शिता नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

उनीहरुले नगरपालिकाको हरहिसाब कायम गर, नगरवासीलाई अटेरी गर्न पाईंदैन, धाकधम्की दिन पाईंदैन, भ्रष्टाचार बन्द गरलगायतका नाराहरु लगाउँदै चक्काजाम समेत गरेका थिए ।

नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस अवधिमा खरीद गरिएका सामानको विवरण तथा बिल सार्वजनिक गर्न प्रदर्शनकारीले माग राखेका छन् । भ्रष्टाचार बन्द गर्नुपर्ने, आर्थिक अनियमितताबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने लगायतका माग अघि सार्दै प्रदर्शनकारीले आन्दोलन थालेका हुन् ।

वडा कार्यालयलाई उपलब्ध गराइएको मोटरसाइकल खरीद प्रक्रिया र सोको बिल उपलब्ध गराउन तथा आर्थिक वर्ष २०७६-७७ मा गरिएको खर्चको विभिन्न शीर्षकको बिल, विवरण र कागजातको छायाँकपी उपलब्ध गराउनुपर्ने माग राखी उनीहरुले आन्दोलनको थालनी गरेका छन् ।

यस सम्बन्धमा नगरपालिका प्रमुख रामबाबु यादवले यस नगरपालिकाको सबै काम पारदर्शी तरिकाले भएको र केही युवाहरुलाई वडाध्यक्षले कमिसन नदिएकोले उनीहरुले चक्काजाम गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्