पहिरोले स्वास्थ्यचौकीको भवन पुरियो



रुकुमः रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका१४ को स्वास्थ्यचौकी भवन पहिरोले पुरेको छ ।

साक्चाखोलामा रहेको चारकोठे स्वास्थ्यचौकी भवन सोमबार राति खसेको पहिरोले पुरेको हो ।
पहिरोले पुर्दा स्वास्थ्यचौकी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ । पहिरोका कारण भवनसहित स्वास्थ्य चौकीमा रहेका औषधिसहित अन्य सामग्रीमा क्षति पुगेको स्वास्थ्यचौकी इञ्चार्ज छवि खड्काले जानकारी दिए ।

केही औषधि र सामान भने निकालिएको उनको भनाइ छ । स्वास्थ्यचौकी भवन पहिराले पुरिएपछि स्थानीयवासीका घरमा कोठा भाडामा लिएर सेवा दिएको इञ्चार्ज खड्काले बताए ।

स्थानीयवासी एक जनाले स्वास्थ्यचौकी भवनमाथि रहेको पाखो भिरालो जमीन डोजर लगाएर सम्याई पर्खाल लगाएपछि उक्त सबै भाग खसेर स्वास्थ्यचौकी भवन पुरिएको बताइएको छ ।

जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेकामा उक्त भवन पनि पहिराले पुरेपछि सेवा प्रवाहमा समस्या देखिएको छ । इञ्चार्ज खड्काका अनुसार भवन मर्मत गर्न सकिने अवस्था नरहेको र अब नयाँ भवन बनाउनाको विकल्प छैन ।

यसैबीच अर्काे पहिराबाट एक घर पुरिएको तथा एक दर्जन घर जोखिममा रहेको वडाध्यक्ष अतिराम बिष्टले बताए । वडाको ठूलो बिरालगाउँकी सुधा खड्काको घर माथिबाट आएको पहिराले पुरेको र सानो बिरालगाउँमा रहेका १० घर उच्च जोखिममा रहेको उहनको भनाइ छ ।

त्यस्तै वडाका विभिन्न ठाउँमा लगाइएका मकै बालीमा समेत क्षति पुगेको छ । यसैबीच जिल्लाको आठबीसकोट नगरपालिकाको कार्यालय पहिरोको उच्च जोखिममा परेको छ ।

वडा नं ९ को राडी बजार नजीकै रहेको नगरपालिकाको कार्यालयमाथि रहेको राडीपाखाबाट खसिरहेको पहिराको उच्च जोखिममा परेको हो । पहिराका कारण नगरपालिकाको कार्यालय रहेका भवन पुरिने जोखिम बढ्दै गएको छ ।

लगातारको वर्षाका कारण निरन्तर पहिरो खसिरहेको छ । यसबाट नगरपालिकाका कार्यालय उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

पहिरो नगरपालिकाभन्दा माथि रहेको सडकमा खसेको छ भने केही ढुङ्गा कार्यालयमा पुगेका छन् । पहिरो खसिरहेकाले कतिबेला नगरपालिका कार्यालय पुरिन्छ भन्ने चिन्तामा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेका छन् । जोखिमका बीचमा पनि नगरपालिकाले सेवा भने प्रवाह गरिरहेको छ ।
नगरपालिकाको कार्यालय गिजागाड खोलाको जोखिममा समेत छ । गत वर्ष खोलामा आएको बाढी नगरपालिकामा पस्दा क्षति भएको थियो भने खोलाको कटानका कारण नगरपालिका कार्यालय जोखिममा रहेको छ ।

यसैबीच राडी बजारमा ल्याइएको खानेपानी अवरुद्ध भएको छ । नगरपालिका कार्यालयलाई जोखिममा पारेको पहिराले पाइपमा क्षति गरेपछि राडी बजारमा खानेपानीको आपूर्ति बन्द भएको हो । यसबाट राडी बजारवासी खानेपानीको समस्यामा परेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्