नेकपा संकटमा ‘आइसब्रेक’ !



काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो ।

ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।

‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो ।

बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयका बीचमा भएको छलफल निकै सकारात्मक रहेको अध्यक्षद्वयको सचिवालयको निष्कर्ष छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच भएको छलफल सकारात्मक रहेको र यसलाई जारी राख्ने सहमति भएको छ । छलफलपछि दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किएकाले अब नेकपा संकट सहजै टरेर जाने विश्वास नेताहरुले गरेका छन् ।

‘अहिले नै कुनै सहमति भइसकेको छैकोन तर छलफल सकारात्मक रहेको छ,’ सापकोटाले भने, ‘आज (बुधबार) स्थायी कमिटीको बैठक बस्नुभन्दा अघि दुई अध्यक्ष पुनः बस्ने समझदारी भएको छ ।’

नेकपा जारी स्थायी कमिटी बैठक स्थगित गरेर ओली र दाहालबीच छलफल भएको हो । सोमबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि बैठक बुधबार बस्ने गरी स्थगित गरेर ओली र दाहालबीच निरन्तर छलफल चलिरहेको छ ।

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, यी दुवै पदबाट राजीनामा नदिने अडानमा ओली रहेका छन् । यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

पार्टी एकता जोगाउन युवा नेताहरुले दबाब दिइरहेका छन् । दोस्रो तहका नेताका साथ युवा नेताहरुले शीर्ष नेतलाई पार्टी फुट्नबाट जोगाउनुपर्ने भन्दै आन्तरिक रूपमा दबाब दिइरहेका हुन् ।

यसैबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यसहित केही कार्यकर्ताले पार्टी फुटलाई जोगाउन माग गर्दै सांकेतिक रूपमा सुरु गरेको धर्ना तेस्रो दिन मंगलबार समेत जारी नै राखेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्