ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण



एजेन्सी : ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च ज्वरो लगायत कोरोनाका लक्षण देखिएपछि गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

कोरोनालाई सामान्य फ्लु को रुपमा लिने बोलसोनारो विना मास्क सार्वजनिक स्थान, कार्यक्रममा देखिदैँ आएका थिए । उनी लकडाउनका विरोधीसमेत हुन् ।

गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन । बोलसोनारोमा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको छ ।

ब्राजिल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ । वर्ल्डोमिटरको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ७४ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्