अध्यक्षद्वयबीच छलफल, स्थायी कमिटी बैठक निरन्तरता पाउने



काठमाडौँ : स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको बैठकले निरन्तरता पाउने भएको हो । यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो ।

“दुई अध्यक्षबीच मङ्गलबार छलफल भएपछि बुधबार स्थायी कमिटी बैठक बस्ने लगभग निश्चित भएको छ”, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि स्थायी कमिटी बैठक बस्नुअघि दुवै अध्यक्षबीच छलफल गरी निष्कर्ष निकालेर मात्र बैठक बस्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार अध्यक्षद्वयबीच दुई दिनदेखि चलिरहेको छलफल मङ्गलबार पनि जारी थियो । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि पनि उहाँहरूबीच पुनः छलफल हुने जनाइएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच सोमबार भएको छलफलकै निरन्तरता मङ्गलबारको बैठक पनि रह्यो । छलफलमा भएको सहमतिअनुसार बुधबारको स्थायी कमिटीलाई निरन्तरता दिइने जानकारी उहाँले दिनुभयो ।

मङ्गलबारै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईको नेतृत्वमा गएको एक टोलीले पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेको छ । पार्टी सङ्कटमा परेको भन्दै त्यसको समाधानका लागि भूमिका खेल्न मन्त्री थापालाई उहाँहरूले आग्रह गर्नुभएको थियो ।

“पार्टीमा छलफल हुनु, फरक विचार आउनु छुट्टै कुरा हो तर त्यसैका कारण पार्टी विभाजन हुनु हुँदैन । त्यसका लागि पहल गर्न मन्त्री थापालाई आग्रह गरेका छौँ”, राष्ट्रिय सभाका सदस्य भट्टराईले बताउनुभयो ।

त्यसको जवाफमा मन्त्री थापाले आफू नेतृत्व परिवर्तनको पक्षमा नरहेको प्रतिक्रिया दिनुभएको उहाँले बताउनुभयो । दुई पक्षबीच मङ्सिर २० गते भएको सम्झौताअनुसार नै पार्टी अगाडि बढ्छ र त्यसका लागि आफूले पहल गर्ने जानकारी उहाँले दिनुभएको भट्टराईले बताउनुभयो ।

सरकार परिवर्तनको पक्षमा आफू नरहेको र कोही त्यो खेलमा लागेको छ भने त्यसले प्रतिगामीलाई सहयोग पुग्ने उहाँले बताउनुभएको थियो । मन्त्री थापाको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयो, “पार्टीभित्र समस्या छ तर त्यसका कारणले कसैलाई निषेध गर्नु हुँदैन, स्थायी कमिटीको बैठकमा पनि म यही कुरा राख्छु ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्