निष्कर्षविहीन ओली–दाहालको छलफल



काठमाडौँ : सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन् ।

सहयोगी नेताहरू समेत राखेर छलफल थालेका उनीहरूले सोमबार आफूहरूले नै विवाद मिलाउने ढंगले छलफल अघि बढाएका थिए । तर मंगलबारको छलफलमा पनि उनीहरू एकअर्काका मुख्य मागप्रति लचक नभएको नेताहरूले बताएका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अझै पनि दाहालसँग राजीनामाबाहेकका एजेन्डामा मात्र छलफल गर्न भनिरहेका छन् । तर अध्यक्ष दाहालले ओलीले राजीनामा दिनुपर्ने अडान छाडेका छैनन् । प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरेर राजीनामाको विषय उठाएकाले यो विषयमा छलफल नै नगर्न भनेका छन् । सहमति खोज्नका लागि पार्टीको स्थायी कमिटी बैठक सुचारु गरी त्यहीं छलफल गर्न दाहालले ओलीसँग आग्रह गरेका छन् ।

सरकारको विषयमा पार्टी कमिटीभित्रै कुरा उठेकाले त्यसलाई त्यहींबाट टुंगाउनु र निचोडमा पुग्नु उपयुक्त हुने दाहालको अडान छ । राजीनामाकै विषय पनि त्यहाँ उठेकाले कमिटीमै बसेर सहमति खोज्न सकिने प्रस्ताव दाहालले ओलीलाई राखेका छन् । त्यसैले ओली बुधबारका लागि तय भएको स्थायी कमिटी बैठक सुचारु गर्न भने तयार भएको स्रोतले जनाएको छ । बुधबार नेकपा स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीले यसअघि नै तय गरेका कोरोना नियन्त्रणलगायतका एजेन्डामा केन्द्रित हुनुपर्ने र अन्य विषयमा नेताहरू बसेर एउटा समझदारी बनाएर जानुपर्ने पक्षमा ओली छन् ।

प्रधानमन्त्री ओलीसँग ठोस कुरा नमिलेपछि दाहालले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर बुधबारको बैठकलगायतका विषयमा कुरा गरेका छन् । दाहालले विगतमा जस्तै ओलीसँग मिलेर नेपाल पक्षलाई धोका दिने हुन् कि भन्ने आंशका बढेपछि त्यसलाई हटाउन उनले नियमित रूपमा नेपालसँग भेटिरहेका छन् । दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत छन् ।

दुइटै पदबाट राजीनामा दिनुपर्ने भन्ने माग यसअघि राखिए पनि अब एउटा पदबाट हटाउँदाचाहिँ प्रधानमन्त्री पद रोज्नुपर्ने उनीहरूको निष्कर्ष छ । त्यही निष्कर्षका आधारमा दाहालले दुई दिनअघिको बैठकमा ओलीलाई प्रधानमन्त्रीबाट हट्न प्रस्ताव गरेका थिए । त्यही प्रस्ताव उनले मंगलबार पनि दोहोर्‍याए । अहिले ओलीलाई सत्तामा रहिरहन दिँदा पार्टी पनि बदनाम हुने र आफूहरूमाथिको पेलान पनि जारी रहने बुझाइ दाहाल र नेपालको छ । कान्तिपुर दैपनकबाट

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्