नेकपा स्थायी कमिटी बैठक आजबाट फेरि शुरु हुँदै



काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार)देखि फेरि शुरु हुने भएको छ । दुई पक्षबीचको विवादका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक आजदेखि फेरी शुरु हुन लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्नु अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष्न केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुने भएको छ ।

मंगलबार दुई अध्यक्षबीच भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति भएसँगै नेकपाको विवाद तत्कालाका लागि समाधान उन्मुख देखिएको छ ।

ओली र प्रचण्डबीच पाँच दिनदेखि गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक नै स्थगित गरेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको थियो ।

हिजोको छलफलमा मंसिर चारको सहमतिलाई थप व्याख्या गरेर अघी बढ्न दुई अध्यक्ष सकारात्मक देखिएका छन् । तर, पार्टी र सरकारमा एक व्यक्ति एक पद लागू गराउनेबारेमा पनि छलफल चलिरहेको छ ।

हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको दुबै अध्यक्षको सचिवालयले जनाएको छ ।

नेकपा जारी स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, यी दुवै पदबाट राजीनामा नदिने ओलीको अडान छ ।

यही अडानका बीच नेकपामा शक्तिसंघर्ष सुरु हुनुका साथै पार्टी फुटको संघारमा पुगेको थियो । तर पछिल्ला दिनमा अध्यक्षद्वयले सघन छलफल गरी सहमति खोज्दै पार्टीलाई फुटको संघारबाट जोगाउने लक्ष्यमा अघि बढेका हुन् ।

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्