नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित



काठमाडौं : बुधबार बिहान ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरी स्थगित भएको छ । बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको नेकपा नेता सूर्य थापाले जानकारी दिए ।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।

मंगलबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति भएसँगै नेकपाको विवाद तत्कालाका लागि समाधान उन्मुख देखिएको थियो ।

ओली र प्रचण्डबीच पाँच दिनदेखि गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक नै स्थगित गरेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको थियो । यसको लागि आज पनि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।

हिजोको छलफलमा मंसिर चारको सहमतिलाई थप व्याख्या गरेर अघी बढ्न दुई अध्यक्ष सकारात्मक देखिएका छन् । तर, पार्टी र सरकारमा एक व्यक्ति एक पद लागू गराउनेबारेमा पनि छलफल चलिरहेको छ ।

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्