‘कुर्सी जोगाउन चालु अधिवेशन अन्त्य’



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कुर्सी जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार दुई पार्टीका शीर्ष नेताबीचमा भएको छलफलले यस्तो निष्कर्ष निकालेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट विवादकै बीच राजीनामा माग भएपछि कुर्सी जोगाउनकै लागि संसदको चालु अविधेशन अन्त्य भएको छ ।

छलफलमा सहभागि जसपा वरिष्ठ नेता राजेन्द्र महतोले कोरोना भाइरसबाट जनता पीडित भइरहेका बेला सरकारलाई काम गर्न दवाव दिने उद्देश्यले भेटघाट भएको बताए ।

‘जनता अहिले कोरोनाका कारण पीडित भएका छन्, तर यो बेला केपी ओली र उसको पाटीका मान्छेले कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेका छन्’ महतोले भने– ‘अब यसरी हुँदैन, सरकारलाई काम गर्न दवाव दिनुपर्छ भनेर हामीले छलफल गरेका छौं ।’

संसद अधिवेशन अन्त्य, कारोना भाइरसको नियन्त्रण र रोकथाम, नागरिकता विधेयक, एमसीसी सम्झौता लगायतका विषयमा छलफल भएको बताइएको छ । यसका साथै अहिलेको पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै जनताको समस्या समाधान गर्न सरकारलाई दबाब दिने निष्कर्ष बैठकले निकालेको छ ।

कोरोना भाइरसको नियन्त्रण र रोकथाममा सरकार असफल भएको महतोले बताए । कोरोना भाइरसको सन्त्रास र लकडाउनले जनता पीडित रहेको बेला सत्ताको जोडघटाउमा लाग्नु दुर्भाग्य रहेको उनले बताए ।

‘जहाँ जनताको कुरा राखिन्छ, त्यही संसदको अधिबेशन प्रतिपक्षी दलसँग सल्लाहै नगरी एकाएक छापामार शैलीमा अन्त्य हुन्छ’ महतोले भने–‘जनताको समस्या सुन्ने र त्यसलाई सम्बोधन गर्ने संसद नै बन्द गरेर ओलीजीले अझै राष्ट्रवादको कुरा गरिराख्नुभएको छ ।’

कांग्रेस सभापति देउवाका स्वकिय सचिव भानु देउवाले दुबै दलका बीचमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताए । सरकारले आफ्नो दायित्व निर्वाह गर्नमा चुकेको निष्कर्ष बैठकको रहेको उनले बताए ।

छलफलमा कांग्रेस सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्ष विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेता सहभागि थिए । यस्तै जसपाबाट अध्यक्षद्धय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र महतो सहभागि भएका थिए ।

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्