छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु



चितवन : भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।

उनलाई आज बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

धादिङ : धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंँ निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घटनापछि सवारी चालक फरार भएका छन् भने प्रहरीले सवारी साधन नियन्त्रणमा लिएको छ । शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्