‘प्रधानमन्त्रीज्यू ! म थाकिसकेँ, बाटो देखाइदिनु’



काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । ईपीएस रोजगारी प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरू युवायुवतीहरुले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ? ’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् । उनीहरूले दक्षिण कोरियाको उडान शुरु गरेर आफूहरूलाई छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

आफ्ना मागबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने उनीहरुको योजना रहेको प्रदर्शनमा उपस्थित सहभागिहरुले बताएका छन् ।

प्रकाशित : असार २४, २०७७

प्रतिक्रिया दिनुहोस्