ल्याण्डफिल साइटको अभावले जनकपुर बजारको फोहोर एक हप्तादेखि उठेन



जनकपुरधामः एक हप्तादेखि बजारको फोहोर नउठ्दा नगरक्षेत्र दुर्गन्धित बन्न थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर नउठाउँदा बजार क्षेत्रमा फोहोरको थुप्रो लागेको छ ।

उपमहानगरले फोहोर विसर्जन गर्दै अएको स्थान व्यक्तिगत जग्गा रहेकोले फोहोर विर्सजनमा समस्या उत्पन्न भएको भन्दै उपमहानगरपालिकाले बजारको फोहोर व्यवस्थापन गर्न सकेको छैन ।

उपमहानगरले वडा नम्बर–१६ मा फोहोर विसर्जन गर्दै आएको थियो । तर हाल उक्त जग्गा कुनै व्यक्तिको रहेकोले उनले त्यहाँ फोहोर फाल्दा दुर्गन्ध, धुवाँ, धुलोले स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वरपर बस्नै नसक्ने गरी सास्ती खेप्नुपरेको भन्दै विरोध गरेपछि फोहोर फाल्न छाडिएको छ ।

फोहोर व्यवस्थापन हुन नसकेपछि जनकपुरधाम बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका साथै पैदल यात्रुहरुले समेत सास्ती खेप्नु परिरहेको छ । जनकपुरधाम वडा नम्बर–७ मा औषधी पसल चलाउँदै आएका सुहैल अहमदले आफूहरु बारम्बार फोहोर उठाउनका लागि भनेपनि कुनै सुनवाई नभएको गुनासो गरे । उनले भने,‘नियमित त कहिल्यै फोहोर उठ्दैन तर अहिले आएर एक हप्ता दिन भईसक्यो फोहोर उठाउनका लागि उपमहानगरपालिकाका सफाई कर्मचारीहरु आएका छैनन् ।’

जनकपुरधाम उपमहानगरपालिका भित्र फोहोर उठ््न नसकेपछि भानुु चोक, शिव चोक, जनक चोक, राजदेवी मन्दिर नजिक, राम चोक, रामानान्द चोक, पिडारी चोक लगायतका मुख्य स्थानहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

डम्पिङ्ग साइटको अभावका कारण फोहोर उठ्न नसकेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले यो सब समस्याको मूल कारण प्रमुख लालकिशोर साह रहेको आरोप लगाए । उनले भने,‘उपमहानगरसँग फोहोर फाल्ने आफ्नो जग्गा छैन तर यस तर्फ प्रमुख साहको ध्यान केन्द्रित हुनुको साटो आफ्नो ढुकुटी भर्नबाट उनलाई फुर्सद छैन । उपमहानगरसँग आज आफ्नो जग्गा भएको भए यो समस्या उत्पन्न हुँदैन्थ्यो ।’

निर्वाचित भएको ३ बितिसकेपनि डम्पिङ्ग साइटका लागि जग्गा खोज्न र जनताको मूलभूत आवश्यक्ता पूर्ती गर्नु भन्दा पनि जनताको पैसा कसरी फिजुलमा खर्च गर्ने त्यसतर्फ मेयर साहेबको ध्यान रहेको वडाध्यक्ष साहको भनाई छ । उनले भने,‘मेयर साहेब अधिकांश बजेट आफै चलाउनु हुन्छ तर जनताको आवश्यकता उनको सरोकारको विषय छैन,उहाँसंग राजनीतिको अनुभव छ तर भिजन छैन, भिजन नभएको मेयरले के नै गर्न सक्छ र ?’


यता वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आफूहरु निर्वाचित भएको दिनदेखि नै फोहोर व्यवस्थापनका लागि उपमहानगरले आफ्नो जग्गा किन्नुपर्ने आवाज उठाउँदै आईरहेपनि त्यस तर्फ कसैले ध्यान नदिएको बताए । ‘वडावासीहरु आफूहरुलाई बारम्बार फोहोर उठाउनलाई भन्नुहुन्छ तर के गर्ने उपमहाननगरपालिकालाई बस किन्नबाट फुर्सद भए पो केही गर्छ ।’

यस सम्बन्धमा उपप्रमुख रिता कुमारी मिश्रले फोहोर व्यवस्थापनको समस्या छिट्टै समाधान हुने बताए । आफू त्यसको सहजीकरणमा लागिरहेको उनले बताए । वडा नम्बर–१६ मा फोहोर फालिदैं आएकोमा सो जग्गा कुनै व्यक्तिको निजि सम्पत्ती रहेकोले फोहोेर फाल्ने ठाउँको अभाव भएको उपप्रमुख मिश्रले बताइन् । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले ल्याण्डफिल साइट नबनाएकाले तत्कालै अन्यत्र फोहोर विसर्जन गर्ने स्थान पनि नभएको मिश्रको भनाइ छ ।

फोहोर फाल्नका लागि सरकारी जग्गाको खोजी भईरहेको उनले बताइन् । उनले भनिन्,‘एक दुई दिन भित्र जग्गा भेटिएन भने फोहोर व्यवस्थापनका लागि सूचना निकालेर ठेक्का लगाउने प्रक्रिया सुरु गर्छौँ ।’ जनकपुरधाम उपमहानगरपालिकासंग ८० सफाई कर्मचारी छन् भने फोहोर उठाउनका लागि ६ वटा ट्रैक्टर, ६ वटा ट्रिपर तथा ६ वटा मैैजिक गाडीहरु छन् । साथै सडक सफा गर्ने एक बु्रमर समेत रहेको छ ।

बजारमा जताततै फोहोरको थुप्रो लाग्न थालेपछि सर्वसाधारण नाक छोपेर हिँड्न थालेका छन् । फोहोर व्यवस्थापनमा उपमहानगरले चासो नदिएको नगरवासीको गुनासो छ । चर्को गर्मीको बेला सडकमै सड्न थालेका फोहोरको गन्धले समस्या भएको स्थानीय व्यापारी अमित ठाकुर बताउँछन् ।

बढ्दो जनघनत्व र बजार विस्तारका कारण नगरक्षेत्रभित्र फोहोर बढदै गईरहेको छ । समयमै फोहोर व्यवस्थापनको उचित उपाय पहिल्याउन नसके यो विषय जटिल बन्दै जाने स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्