‘पार्टी फुटाउन पाईदैन स्थिर सरकार ढाल्न पाईदैन’ भन्दै ओलीको समर्थनमा प्रदर्शन



जनकपुरधामः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता कायम गर्न दवाव दिँदै जनकपुरधाममा पार्टी एकताको पक्षमा हुनेहरुले मोटरसाइकल र्याली निकालेका छन् ।

नेकपाका केही नेताहरुलाई देशी विदेशी समुहले विभिन्न नाममा उचालेर पार्टी फोडि अस्थिरता निम्त्याउन तर्फ भारतलगायतका शक्ति राष्ट्रहरु लागेको हुदाँ पार्टी एकतालाई कायम राख्न आग्रह गर्दै आफुहरुले दवाव स्वरुप र्याली निकालेको जनकपुरधाम उपमहानगरपालिका वडा न.१३ का वडाध्यक्ष समेत रहेका नेकपा नेता शुभनारायण मण्डलले बताए ।

उनले भने,‘अहिलेको सन्दर्भमा राष्ट्रिय मुद्दा नै ठुलो छ र केपी ओलीको सरकार ढालेर अरु कसैको नेतृत्वमा सरकार बनेमा राष्ट्रियता, सिमांकन र नागरिकता सम्वन्धी मुद्दा कमजोर हुन्छ ।’ केपी ओली नेतृत्वको सरकारलाई कसैले ढाल्न खोजेमा जनता सडकमा सशक्त रुपमा प्रतिवादमा उत्रने चेतावनी समेत मण्डलले दिए ।

विश्व नै कोरानाका कारण अस्तव्यस्त भईरहेको सन्र्दभमा सरकार त्यसको नियन्त्रणका लागी प्रयत्नशिल रहेको, नक्सा, नागरिकता र राष्ट्रियताको सवालमा सरकार जुधिरहदाँ बेमौसमी बाजा बजाएर प्रधानमन्त्री ओलीको राजीनामा माग्नु भारतिय दलाली बाहेक केही नरहेको मण्डलले जिकिर गरे ।

पार्टी फुटाउन पाईदैन, स्थिर सरकार ढाल्न पाईदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता कायम गर, भारतिय दलाल मुर्दावादलगायतका नाराहरु लेखिएको प्लेकार्ड सहित नेकपा सर्मथित दर्जनौं युवाहरु संलग्न भई संकट मोचनबाट सुरु भएको मोटरसाइकल र्याली थापाचोक, पिडारीचोक, रामानन्दचोक, भ्रमरपुराचोक, विश्वकर्माचोक, विद्यापतीचोक, कदमचोक, भानुचोक, शिवचोकहुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्