जनमत पार्टीका नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा



लहानः जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष डा.सीके राउत नेतृत्वको पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठाप्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल तानाशाही अपारदर्शी प्रवृत्ति बढेकोे लगायतका आरोप लगाउँदै १४ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

जनमत पार्टी सिरहाका पूर्वजिल्ला संयोजकद्वय चन्देश्वर महतो र केदारनाथ यादवसहित लहान नगरपालिका संयोजक देवकान्त सिंह, सिरहा नगरपालिका संयोजक विपीन यादव, सुखीपुर नगरपालिका संयोजक सत्रुधन महतो, धनगढीमाई नगरपालिका संयोजक बैधनाथ महतो, नरहा गाउँपालिकाका संयोजक मनोज यादव, नवराजपुर गाउँपालिकाका संयोजक रामशंकर यादव, गोलबजार नगरपालिकाका संयोजक देवेन्द्रप्रसाद महतो, विष्णुपुर गाउँपालिकाका संयोजक वीरेन्द्रकुमार यादव तथा पार्टीका सक्रिय सदस्य अशेश्वर कामती, महेश महतो, भोलाजित नेपाल र जितेन्द्रकुमार सिंहले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्