गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै



काठमाडौँ : गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै खर्च हुने देखिएको हो । तथ्याङ्कअनुसार गुगल प्रयोगमा ५१ प्रतिशत र फेसबुकमा ३१ प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ ।

यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा आठ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा दुई दुई प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । अनलाइन चलचित्र हेर्ने सुविधा उपलब्ध गराइरहेको नेटफ्लिक्सका लागि नेपालीले एक प्रतिशत इन्टरनेट खपत गरिरहेको पनि तथ्याङ्कले देखाएको छ । आन्तरिक खपतका यी कन्टेन्टमा प्रतिसेकेन्ड १.६ टेराबाइट इन्टरनेट प्रयोग भएको समूहका अध्यक्ष समितजन थिङले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि गुगल र फेसबुक प्रयोगमै बढी ब्यान्डविथ खपत भएको समूहको तथ्याङ्क छ । कुल ब्यान्डविथमध्ये गुगलमा ३२ प्रतिशत, फेसबकुमा २४ प्रतिशत खपत हुने पाइएको छ । अन्तर्राष्ट्रिय ट्राफिकका लागि नेपालीले प्रतिसेकेन्ड पाँच सय जीबीपीएस इन्टरनेट खपत गरिएको पाइएको समूहका अध्यक्ष थिङले जानकारी दिनुभयो । यस हिसाबले नेपालमा अहिले प्रतिसेकेन्ड २.१ टेराबाइट इन्टरनेट खपत भइरहेको पाइएको छ । बन्दाबन्दीअघि यस्तो खपत अझ कम थियो ।

समूहको तथ्याङ्कअनुसार बन्दाबन्दीपछि नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढेको छ । बन्दाबन्दीको समयमा इन्टरनेटमा मनोरन्जनात्मक सामग्रीमा नेपालीको आकर्षण बढेको देखिएको छ । छोटा भिडियोका लागि लोकप्रिय बन्दै गएको टिकटकको प्रयोग यसबीचमा एक सय प्रतिशतले बढ्यो । त्यस्तै नेटफ्लिक्स र अनलाइन गेमको प्रयोग पनि एक सय प्रतिशतले नै बढेको समूहको तथ्याङ्क छ ।

गुगल र फेसबुकको प्रयोग भने क्रमशः १२ र १७ प्रतिशतले बढेको देखिन्छ । नेपालमा ८९ प्रतिशत फिक्स्ड र बाँकी ११ प्रतिशत मात्र मोबाइलबाट ब्यान्डविथ खपत भइरहेको समूहको तथ्याङ्कले देखाएको छ । समूहले प्रस्तुत गरेको गुगलको तथ्याङ्क अनुसार नेपालमा वार्षिक औषत २३ प्रतिशतले इन्टरनेटको खपत बढिरहेको देखिन्छ । इन्टरनेट वितरणमा विगतमा कन्टेन्ट उत्पादन भएकै नेटवर्कबाट वितरण भइरहेकोमा पछिल्लो समय कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन)मार्फत वितरण भइरहेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार ७२ प्रतिशत जनतामा इन्टरनेटको पहुँच छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्