विप्लवका गतिविधि सफल हुन दिँदैनाैं : गृहमन्त्री थापा



काठमाडाैं : विप्लव नेतृत्वको नेकपा झन् झन् अराजक र ध्वसांत्मक बन्दै गएको भन्दै अब सरकार कडा रुपमा प्रस्तुत हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

कर्णाली प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न पुगेका गृहमन्त्री थापाले विप्लवको विषय ठूलो नभएको तर, शान्ति सुरक्षाको हिसाबले भने संवेदनशील भएको बताए। प्रत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै उनले भने, ‘यसले देशव्यापी रुपमा हिंसात्मक काम गर्दै आएको छ। सरकारले उन्मुक्ति दिएकैले उनीहरुको हौसला बढेको हो।’

विप्लव नेकपाको क्रान्तिको कुनै आधार नभएको समेत गृहमन्त्री थापाले टिप्पणी गरेका छन्। भने, ‘आधारबिनाको क्रान्ति कुनै क्रान्ति होइन, यो सफल हुँदैन।’ हिजोको जस्तो राज्य व्यवस्था अहिले नरहेको बताउँदै उनले विप्लवको कुनै पनि क्रियाकलाप सफल हुन नदिने बताएका छन्। ‘अहिले देशमा नयाँ संविधान निर्माण भएको छ, देश विकास र समृद्धिको बाटोमा हिँडिरहेको छ, उनीहरु निस्तेज हुन्छन्,’ थापाले भने। अब सरकारले राज्यविरोधी र संविधानविरोधी गतिविधिको अन्त्य गर्ने गृहमन्त्रीको भनाइ छ।

‘सरकार राज्यमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छ, राज्य र संविधानविरोधी तत्वविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुन्छ,’ गृहमन्त्रीले भने, ‘कानुनबमोजिम नियन्त्रण गर्छौं, हामीले वार्ताका लागि आह्वान पनि गरेका छौं मूल प्रवाहमा आउन आग्रह गरेका छौं।’ ‘स्थानीय तहमा अलिकति हस्तक्षेप गर्ने गरेको हामीले सुनेका छौं, त्यो धेरै दिन टिक्दैन, निस्तेज गछौं’, थापाले भने।

उनले सरकारले एक वर्षमा अन्तर्राष्टिय सम्बन्धलाई सुदृढ र विस्तार गर्ने काम गरेको बताए। उनले सरकारले संघीयता कार्यान्वयनका क्रममा संरचनागत कामलाई पूरा गरेका, विकासका आधारहरु तयार पार्ने काम गरेको, विकासका निम्ति आवश्यक योजना निर्माण गरेको बताए। अब हुने अन्तर्राष्टिय लगानी सम्मेलनले देशको विकासमा गति दिने थापाको दाबी छ।

प्रतिक्रिया दिनुहोस्