नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा



लम्की : कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो । 

त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्फ धकेलिएको छ । धार परिवर्तन गरेर ढुङ्गा, बालुवा उत्खननको काम भइरहेको छ । विगत १० दिनदेखि नियमित ढुङ्गा, बालुवा उत्खनन गर्ने काम भइरहेको स्थानीयवासीको भनाइ छ । “नदी हाम्रो बस्तीतिर फर्काएर जेसिबी प्रयोग गरेर ढुङ्गा, बालुवा निकाल्ने काम भइरहेको छ ।” स्थानीय झपट बुढाले भने, “वर्षौदेखि बाढी र कटानको जोखिममा परेका हामी यसरी ढुङ्गा, बालुवा निकाल्दा हाम्रो बस्ती यस वर्ष डुब्ने निश्चित छ ।” 

ढुङ्गा, बालुवा निकाल्ने कामको स्थानीयवासीले विरोध गरे पनि सुनुवाइ नभएको उनले बताए । धार परिवर्तन गर्दा त्यस क्षेत्रमा भइरहेको तटबन्धको कामसमेत अवरुद्ध भएको छ । टीकापुर नगरपालिकाबाट ढुङ्गा, बालुवा निकासीको ठेक्का लिएका ठेकेदारले ढुङ्गा, बालुवा उत्खनन गरेको बताइएको छ । 

सो क्षेत्रमा ७० परिवार बस्दै आएका छन् भने त्यहाँ बाढीका कारण उखुखेती गर्ने गरिएको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले आफूले नदी बस्तीतिर फर्काइएको कुरा हिजो मात्रै जानकारी पाएको बताउए । उनले भने, “मैले जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका संयोजकसँग छलफल गरिरहेको छु, बस्ती जोखिम गर्ने गरी उत्खनन गर्न दिइन्न ।” 

स्थानीयवासीले विरोध गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरले दुई जेसिबी नियन्त्रणमा लिए पनि एक दिनमै छाडेको छ । “हामीले नियन्त्रणमा लिएका थियौँ, नियमवितरीत हुने गरी उत्खनन नगर्ने शर्तमा कागज गरेर जेसिबी छाडेका हौँ”, प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले भने “स्थानीयवासीको विरोध आएपछि पक्राउ गर्ने काम गर्छौँ ।” 

प्रतिक्रिया दिनुहोस्