प्रदेश २ को व्यापार ठप्प, बैंकको मिटर चालु



जनकपुरधामः विगत लामो समयको लकडाउनको असर विपन्न वर्गमा मात्र नभई बन्द व्यापारहरुमा समेत परेको छ ।

लकडाउन खुकुलो भएसँगै जनकपुरधाम उपमहानगरपालिकामा पनि अधिकांश पसलहरु सञ्चालनमा आएका छन् । ठुला ठुला होटल र सवारीसाधनहरु सञ्ंचालनमा नआए पनि स-साना व्यापारीहरु भने आ-आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह

यस सम्बन्धमा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले व्यापारीहरुलाई अहिले बैंकको ब्याज र कोठाभाडा तिर्नपनि मुस्किल भईरहेको बताए ।
‘लकडाउनले व्यापारीलाई बर्बाद बनाइसकेको छ,’वरिष्ठ उपाध्यक्ष साह भन्छन्, ‘बैंकलाई ब्याज तिर्नै पर्ने छ, घरधनीले कोठाभाडा मागेका छन् व्यापार व्यवसाय केही छैन्, कहाँबाट तिर्ने समस्या छ ।’

लकडाउन भएदेखि जनकपुर बजारमा करिव ५० करौडको क्षति पुगेको उनको अनुमान छ । जनकपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुको कोठाभाडा मिन्हाका साथै बैंकको ब्याजमा सहुलियतको लागि पहल गरिदिन प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपनि व्यवसायीहरुको सवालमा उपमहानगरपालिकाले केही नबोलको उनको गुनासो छ ।

‘व्यवसायीहरुले स्थानीय तहलाई करपनि बुझाइरहेका छन्, हरेक समस्यामा सहयोग गरेका छन्,’उनी भन्छन्,‘तर अहिले उनीहरु समस्यामा परेको बेला केही बोलिदिएको छैन् ।
व्यवसायीहरु अहिले बैंकको ब्याज तिर्नसक्ने अवस्था नरहेको बताउँदै उनले भने,‘व्यवसायीहरु ठूलो मार्कामा परेका छन्, बैंकले ब्याजको लागि तागेदा गरिरहेको छ, राजश्व कार्यालयले कर बुझाउन भनेको छ तर व्यवसाय नै नभएपछि कसरी ब्याज तिर्ने र कहाँबाट कर बुझाउने ?’

होटल सिता प्यालेसका सञ्चालक जिवनाथ चौधरी

रामानन्दचोकस्थित होटल सिता प्यालेसका सञ्चालक जिवनाथ चौधरीले कोरोना महामारीका कारण पर्यटक घटेसँगै आफुहरुको व्यवसाय नराम्ररी प्रभावित भएको बताए । उनले लामो समयको लकडाउनका कारण होटल व्यवसायीहरु आर्थिक रुपले धेरै कठिनाईमा परेको समेत बताए । होटल व्यवसायीहरुलाई आर्थिक दिवालियापन हुने अवस्था रहेको उनको भनाई छ । उनले भने,‘मलाई आफै प्रति महिना बैंकलाई साढे चार लाख रुपैयाँ ब्याज तिर्न परिरहेको छ । होटल बन्द छ तर बैंकको मिटर चालु छ । कर्मचारीको तलब,बिजुली बिल,खानेपानी लगायत गरि चार महिनामा ३० लाख रुपैयाँ घाटा व्यहोरेको छु ।’

सरकारको तर्फबाट पनि ब्याजमा छुट दिने प्रोपगण्डा भएपनि अहिलेसम्म कुनै पहल नभएको उनको दुः खेसो छ । उनले लकडाउन पूर्णरुपले खुलेपनि होटल व्यवसाय अबको करिव एक बर्षसम्म ठप्प नै रहने आशंका व्यक्त गरे । अघिल्ला बर्षहरुमा बैशाखदेखि असारसम्म होटलको कन्फ्रेन्स हल बुक नै हुन्थ्यो तर यस बर्ष कोरोनाले सबै खाईदिएको चौधरीको दुःखेसो छ । उनले भने,‘बैशाखदेखि असारसम्म पिक सिजन भएपनि कोरोनाको कारण घाटा त भयो नै अब फेरि साउनदेखि बर्षातको मौसम सुरु भएकोले यस अवधिमा पनि होटलहरुले घाटा नै व्यहोर्नुपर्ने हुन्छ ।’

उनले पर्यटकको आगमन घटेको र अग्रिम बुकिङ रद्द हुने क्रमसमेत बढेको बताए । उनले भने,‘सबै ठाउँमा प्रभाव परिरहेका बेला हाम्रो व्यवसायमा असर नपर्ने त कुनै कुरै भएन । कोरोनाका कारणले हाम्रो व्यवसायमा प्रभाव परिरहेको छ ।’

धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र

धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले कोराना भाइरसको कारण व्यापार तथा पर्यटनमा ठूलो असर परेको र लगानीकर्ताहरुलाई डराउनुपर्ने अवस्था आएको बताउँछन् । ‘व्यापारदेखि लगानीसम्मको कुरा यो माहामारीले प्रभाव पारेको छ, चेम्बरका साथीहरुले व्यापारमा ठूलो नोक्सानी भएको कुरा हामीसँग गर्नु भएको छ,’ मिश्रले द नेपालटपसँग भने ।

बलराम ज्वेलर्सका सञ्चालक बलराम साह

लकडाउन भए पश्चात पनि नेपाल सरकारले गर्नुपर्ने कुनै काम नगर्दा व्यापार व्यवसायमा निकै क्षति पुगेको बलराम ज्वेलर्सका सञ्चालक बलराम साह बताउँछन् । लकडाउन खुकुलो भएपछि पनि हाम्रो व्यापार नभएको उनको दुःखेसो छ । उनले भने,‘लकडाउन खुकुलो भएर पसल खोल्ने काम मात्र भएको छ । तर व्यापार भने एक रुपैयाँ पनि भएको छैन् । यस्तो समयमा मान्छे पहिले खाना खाने जोहो गर्छ कि सुन किन्छ ? लकडाउनले विवाहको सिजन नै खाईदियो अनि हाम्रो व्यापार कहाँबाट हुन्छ ?’

लकडाउनको अवधिमा पनि लामो समयदेखि काम गर्दै आएका २५ जना कालिगढ र ५ जना कर्मचारीको ज्याला घरबाटै तिर्दै आएको बताउँदै बलरामले भने,‘मासिक अढाई लाख रुपैयाँ उनीहरुमै जान्छ । एक तर्फ घरबाटै घाटा छ भने अर्कोतर्फ बैंकहरु टाउकोमै नाचिरहेका छन् । पहिला त ५ लाखसम्म दैनिक बिक्री हुन्थ्यो तर अहिले लकडाउन खुकुलो भएर व्यापार सञ्चालनमा आएपनि दैनिक १० हजारसम्म पनि बिक्री गर्न धौ-धौ परिरहेको हुन्छ ।’

फैन्सी जुत्ता पसल सञ्चालक जानी खान

व्यापार व्यवसाय सञ्चालन गरेपनि लकडाउनले गर्दा सोचे जस्तो व्यापार हुन नसकेको जनकपुरधामको मुख्यबजार शिवचोकमा फैन्सी जुत्ता पसल सञ्चालन गर्दै आएका जानी खानले बताए । लकडाउन भन्दा पहिले र अहिलेमा ग्राहकहरुको उपस्थितीमा धेरै फरक रहेको उनी बताउँछन् ।

अर्थतन्त्रमा ६७ अर्ब १० करोडको क्षति

कोरोनाका कारण नेपालको अर्थतन्त्रमा कुल ६७ अर्ब १० करोड रूपैयाँ बराबरको क्षति हुने प्रारम्भिक अनुमान गरिएको छ ।

अर्थमन्त्रालयले तयार पारेको ‘नोबेल कोरोना भाइरसको संक्रमणबाट नेपाली अर्थतन्त्रमा पर्नसक्ने प्रभाव एवं तत्काल चाल्नुपर्ने कदमसम्बन्धी प्रतिवेदन’मा क्षतिको अनुमान गरिएको हो । जसअन्तर्गत सेवा क्षेत्रमा २७ अर्ब, उद्योग क्षेत्रमा ११ अर्ब र कृषि क्षेत्रमा २ अर्ब रूपैयाँ उत्पादन गुम्ने देखिएको छ ।

सेवा क्षेत्रमध्ये होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएका छन् । होटल व्यवसायमा मात्रै ६ अर्ब रुपैयाँको क्षति हुने अर्थ मन्त्रालयको अनुमान छ । नेपालमा होटल क्षेत्रमा ३ लाख ७१ हजार, यातायातमा ३ लाख ८२ हजार र व्यापार व्यवसायमा १२ लाख ४० हजार जनशक्ति संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्