सार्वजनिक यातायात संचालनबारे भोलि निर्णय हुने



काठमाडौंः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात संचालनको बारेमा बैठकपछि मात्र आधिकारिक धारणा दिने भएको छ ।

सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको र यसभित्रका कार्यविधिमा अझै स्पष्टता नभएका कारण भोली (शुक्रबार) आयोजना गरिएको महासंघको आकास्मिक बैठकपछि मात्रै आधिकारिक धारणा दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् ।

उनले भने,‘यातायात संचालन कसरी गर्ने, सुरक्षाको उपकरण कसले उपलब्ध गराउने लगायतका कुरा अस्पष्ट छन् । भोलिको बैठक पछि मात्रै हाम्रो आधिकारिक धारण आउँछ,’
आज (बिहीबार) मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

निर्णय अनुसार अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन तर काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सवारी जान सक्ने छ । सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनु पर्नेछ ।

त्यस्तै सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइने हुनाले तोकिएको भाडा दरको ५० प्रतिशत बढी भाडा लिन पाउने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्