बाढीले दुई बजारै बगायो



सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङ विद्यालय पुनर्निर्माणको काम गर्न मानेश्वारा गएका थिए । उनी बुधबार उतै बसे । यता बुधबारै मध्यरात आएको बाढीले उनकी आमा (माइली तामाङ)लाई बेपत्ता बनायो । बाहिर भएकाले उनी जोगिए ।

‘राति एक्कासि ठूलो आवाज आयो, आमालाई फोन गरेको लागेन’, उनले भने, ‘के भएछ भनेर दौडेर आउँदा यहाँ त केही पनि बाँकी रहेनछ ।’ गाउँमा रहेका खासै कोही पनि नजोगिएको उनले सुनाए ।

राति १२ बजेतिर ठूलो आवाजसहित आएको बाढीले बस्ती तहसनहस पारेको घटनास्थलपारि रहेका उनले बताए । उनले ठूलो आवाजपछि गाउँमा ‘केही प्रलय’ भएको सोचेर राति नै आउँदा बस्ती बगरमा परिणत भएको देखेका थिए ।

अरनिको राजमार्गमा पर्ने दुई बजार बुधबार मध्यरात बाढीले बगाएको हो । जम्बुमा दुई जनाको मृत्यु भएको छ भने एकै परिवारका पाँचसहित १८ जना बेपत्ता छन् । भोटेकोसी गाउँपालिका–५ बुल्कोटमा चार जना बेपत्ता भएका छन् ।

जम्बुमा याल्मु खोलाको बाढीले १५ घरभन्दा बढी र बुल्कोटमा स्थानीय खोलाको बाढीले करिब १० घर बगाएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बाह्रबिसे–५ का २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको बताए । स्थानीयले बाबुछोरीलाई बिहीबार बिहान मृत अवस्थामा फेला पारेका थिए ।

काफ्लेका अनुसार जम्बुमा बेपत्ता हुनेमा ७२ वर्षीय भीमबहादुर वाइबासहित उनको परिवारका पाँच जना छन् । जसमा ७० वर्षीया चिनीमाया वाइबा, २९ वर्षीया लीलामाया वाइबा, आठ वर्षीया पासाङडोल्मा वाइबा र दुई वर्षीया निमा डोल्मा वाइबा छन् । स्थानीय २५ वर्षीय लक्ष्मण वाइबा, १३ वर्षीया सुनमाला वाइबा, ५५ वर्षीय जनकबहादुर थिङ, २८ वर्षीया सविना तामाङ, चार वर्षका आकाश तामाङ, ५७ वर्षीय तोकबहादुर तामाङ पनि बेपत्ता छन् । त्यस्तै, २२ वर्षीया सलिना तामाङ, २५ वर्षीय सुवेश तामाङ, ६५ वर्षीया माइली तामाङ, नाम, उमेर नखुलेका एक चिनियाँ नागरिक र ५५ वर्षीय युक्तबहादुर तामाङलाई बाढीले बेपत्ता बनाएको छ ।

जाइका परियोजनाअन्तर्गत भूकम्पपछिको पुनर्निर्माणमा खटिएका दाङका इन्जिनियर २४ वर्षीय आकाश केसी, मध्य भोटेकोसी पावर कम्पनीका सेक्युरिटी ३५ वर्षका हिमेश शर्मा बिहीबार साँझसम्म बेपत्ता रहेको काफ्लेले बताए । इन्जिनियर केसी लकडाउनपछि असार दोस्रो साता मात्र घरबाट फर्किएको केसीका आफन्त वेदबहादुर बस्नेतले टेलिफोनमा अन्नपूर्णलाई बताए ।

जम्बुबाट करिब सात किलोमिटर माथि पर्ने बुल्कोटमा एकै परिवारका चार जना बेपत्ता भएका छन् । ६२ वर्षीय निमा दोर्जे तामाङ, २७ वर्षीया मञ्जु तामाङ, उनका छोरा ११ वर्षीय पासाङ नोर्बु तामाङ र सात वर्षीया साहिल तामाङलाई बाढीले बेपत्ता बनाएको हो । खोलामा बाढीसँगै बगेको लेदो र भोटेकोसी नदीमा बढेको बहावका काारण बस्तीमा थप क्षति पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पाँच जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको बताए । लगातारको वर्षा र राजमार्गका दुवैतर्फ बाढी र पहिरोले सडक अवरुद्ध हुँदा उद्धार तथा बेपत्ताको खोजीमा समस्या भएको थियो । बाह्रबिसेनजिकै खागदलमा पहिरोका कारण सडक अवरुद्ध भएकाले घटनास्थलमा सुरक्षाकर्मी पुग्न केही ढिला भएको उनले उल्लेख गरे ।

‘खागदल र नयाँ पुलको अवरोधका कारण बाह्रबिसे र तातोपानी दुवै तर्फबाट घटनास्थल पुग्न समस्या भएको थियो’, उनले भने, ‘अन्ततः अर्को बाटोबाट घुमेर सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।’ घाइतेलाई उपचारमा पठाइए पनि वर्षा र पहिरोका कारण बेपत्ताको खोजीमा समस्या आएको उनको भनाइ छ । बेपत्ताको खोजीमा शुक्रबारदेखि थप जनशक्ति परिचालन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बेपत्ताको खोजी र पीडितको राहतमा कुनै कसर बाँकी नराख्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । घटनापछि सभामुख सापकोटा, बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालसहित प्रदेश सरकारको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको थियो ।

बाह्रबिसे नगरपालिकाले मृतकका परिवारलाई तत्काल १/१ लाख रुपैयाँ राहत, घाइतेको उपचारका लागि जनही १/१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख निमफुन्जो शेर्पाले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्