कांग्रेसमा भावी नेतृत्वको बहस : विरासत भर्सेस विरासत !



काठमाडौं । नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन माहोल गर्मिदै गएको छ । गत सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन ७, ८, ९ र १० मै महाधिवेशन गर्ने निर्णय लिएपछि भावी नेतृत्वबारे बहस सुरु भएको छ ।

नयाँ विधानको व्यवस्थाले कस्तो नेतृत्वसहितको कार्यसमिति आउँछ भन्ने आम साचो छ । १४ जना पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमिति सबै पदका लागि उस्तै परिस्पर्धा हुने देखिन्छ । तर सबैको ध्यान कांग्रेसको बागडोर कसले हातमा पुग्छ भन्नेमै बढी चासो छ । अहिलेसम्म सभापतिका सशक्त उम्मेदवारका रूपमा वर्तमान सभापति शेरबहादुर देउवालाई हेरिएको छ ।

पार्टीभित्र हरेक गतिविधि गर्दा उनी आफूलाई फेरि पनि सभापतिमा दोहोर्याउने संकेत दिनेगरी कदम चालँदै आएको पाइन्छ । त्यसैले पनि अहिलेसम्म उनी सहजै भावी नेतृत्वको दौडबाट बाहिरिने कुनै संकेत दनेखिँदैन । किन भने देउवा टिमा उनको विकल्पको रुपमा अहिलेसम्म कुनै नेता प्रस्तुत भएको पाइँदैन ।

यता १३ औँ महाधिवेशनमा देउवासँग पराजित वरिष्ठ नेता रामचन्द्र पौडेलमा जसरी पनि पार्टी सभापति हुने लालसा प्रस्ट झल्किन्छ । कांग्रेसभित्र वैचारिक नेताको परिचय बनाए पौडेल आफ्नो समूहका नेताहरुको व्यवस्थापनमा कति खरो उत्रिन्छन्, त्यसैमा निर्भर रहने कांग्रेस नेताहरु नै बताउँछन् ।

१३ औँ महाधिवेशनमा पौडेलको पराजयको कारणका रुपमा नेता व्यवस्थापन खडा भएको थियो । पौडेल समूहबाट कांग्रेस सभापति पदका आकांक्षीहरूमा महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाको चर्चा छ ।

कोइरालाद्वयले सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेको अवस्था छ भने सिंह अहिलेसम्म मौन देखिन्छन् । यस्तै तेस्रो समूह खडा गरेर १३ औँ महाधिवेशनको मैदानमा उत्रिएका पूर्व महामन्त्री कृष्ण सिटौला पनि सभापतिको प्रवल मान्छिन् ।

उनले सार्वजनिक रुपमै आफू सभापति दौडमा रहेको सन्देश दिँदै आएका छन् । यस्तै देउवा सभापतिको उम्मेदवार नबनेको अवस्थामा उक्त समूहबाट उपसभापति विमलेन्द्र निधि मैदानमा उत्रिनेमा संकोच छैन । निधि पनि त्यो माहोल बनाउन तल्लिन देखिन्छन् । त्यसो भएको खण्डमा कांग्रेस महाधिवेशनमा विरासत पनि जोडिने छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा सुपुत्र शशांक कोइरालाका लागि विरासतको राजनीतिमा बलियो छ । तर बीपीका सुपुत्र भएका कारण मात्रैले शशांकका लागि महाधिवेशनको मैदान सोचेजति सहज देखिँदैन । सुपरिचित नेत्र चिकित्सक शशांकको व्यक्तित्व आकर्षक छ ।

उनलाई राजनीतिमा धेरैले हर्ने दृष्टिकोण क्षमता र योग्यताभन्दा विरासतसँग बढी जोडिन्छ । यस्तै काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरो प्रकाशमान सिंहलाई पनि लगनशीलत र विरासतले सभापतिको दौड तय गर्न गाह्रो छैन । विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रप्राप्तिको आन्दोलनमा सक्रिय रहेका सिंहले नेपाल विद्यार्थी संघको निर्माणमा ठूलो योगदान पु¥याएका काँग्रेसभित्रै चार्चा हुने गरेको छ ।

वरिष्ठ नेता पौडेलले पनि शशांक र शेखरभन्दा सिंहलाई पार्टी राजनीतिमा स्पेस दिने कुराले पनि उनको राजनीतिक व्यक्तित्व मौलाउँदै गएको धेरैको बुझाइ छ । यस्तै शेखर कोइराला काँग्रेस सभापति पदका अर्का बलियो आकांक्षीका रुपमा काँग्रेस वृतमा चर्चा छ । नेपाली कांग्रेसकी नेत्रीका रूपमा लोकतान्त्रिक अभियानको सफलताका लागि नोना कोइरालाको योगदान पनि कम छैन ।

विराटनगरस्थित कोइराला निवासमा बसेर पूर्वदेखि पश्चिमसम्मका कांग्रेस संगठनहरूको निर्माण र विकासमा नोनाको ठूलो योगदान रहेको काँग्रेस नेताहरु बताउँछन् । शेखर तिनै नोना कोइराला तथा बीपीका माइला भाइ केशवप्रसाद कोइरालाका छोरा हुन् । बीपी कोइरालाको देहावसानपछि नेपाली कांग्रेस पार्टीलाई अघि बढाउन नोना कोइरालाले गिरिजाप्रसाद कोइरालालाई बलियो साथ दिएको पाइन्छ ।

शेखरलाई पनि विरासतमाथि बिराजमान हुने सुविधान छ  । शेखर आफैं पनि विद्यार्थी जीवनमा आन्दोलनकारीको भूमिकामा निरन्तर लागेका थिए । कालाजरका विशेषज्ञ चिकित्सक शेखर कोइरालाको धरानस्थित बीपी कोइराला शिक्षण अस्पतालको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान छ । संघर्ष र विरासतका बीच उदाएका उपसभापति निधि नेपाली कांग्रेसभित्र गान्धीवादी विचारका संवाहक महेन्द्रनारायण निधिका कान्छा छोरो हुन् ।

तर विमलेन्द्रले पिताको विरासतको प्रतिनिधित्व गरे पनि राजनीतिमा उनले आफ्ना पिताको अहिंसात्मक राजनीतिको पदचाप पछ्याउन नसकेको आरोप छ । तत्कालीन पञ्चायत राजनीतिको प्रतिरोध गर्न अहिंसा मात्र पर्याप्त नुहने उनको बुझाइ थियो ।

निधि क्षमता र संघर्षबाट सानै उमेरमा नेपाल विद्यार्थी संघको नेतृत्वमा पुग्ने पुगेका थिए । यद्यपि निधिले सभापतिको रुपमा आफू तयार रहेको सन्देश भने दिएका छैन । देउवालाई चुनौति दिने गरी आफ्नो उम्मेदवारीको घोषणा गर्ने निधिको मनसाय छैन ।

विमलेन्द्र नेपालको प्रजातान्त्रिक आन्दोलनका एक जुझारु व्यक्तित्व हुन् । मधेसको राजनीतिमा कांग्रेस पछि परेको अहिलेको अवस्थामा निधिको उम्मेदवारी प्रभावकारी हुने कांग्रेस नेता प्रदीप गिरीलगायतको ठम्याइ छ ।

कांग्रेसलाई नजिकबाट नियाल्नेहरु काँग्रेसको आगामी नेतृत्व यिनै नेताहरु मध्ये एकले सम्हाल्ने बुझाइ राख्छन् । कांग्रेसलाई नयाँ दिशा र गति दिन युवा पंक्तिबाट हस्तक्षेप जरुरी रहेको बुझाइ राख्नेको जमात पनि ठूलो छ ।

जसका लागि १३ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेको ‘गगन थापाहरु’ले फेरि आँट देखाउनुपर्ने हुन्छ । तर उनी १४ औँ महाधिवेशनमा जसरी पनि महामन्त्री बन्ने होडमा देखिन्छन् ।
अन्य युवा नेता बालकृष्ण खाण, प्रवक्ता विश्वप्रकाश, मिनेन्द्र रिजाल, एनपी साउदलगायत पनि सभापतिको दौडमा सहभागी हुने कुनै संकेत छैन ।

प्रतिक्रिया दिनुहोस्