प्रहरी इन्काउन्टरमा मारिए ‘विकास दुबे’



काठमाडौंः भारतको उत्तर प्रदेशका कुख्यात अपराधी विकास दुबेलाई भारतीय सुरक्षाकर्मीहरूले आज (शुक्रवार) बिहान कानपुर नजिक इन्काउन्टर गरेको छ।

अघिल्लो साता आठ जना प्रहरी अधिकारीको हत्या गरेर फरार रहेका दुबेलाई प्रहरीले मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरी कानपुर ल्याइरहेको थियो ।

बाटोमा आउँदै गर्दा पानीले बिगारेको सडकमा गाडी पल्टिएपछि दुबे प्रहरीको बन्दुक लिएर भागेको र आत्मसमर्पण गर्नु भन्दा नमानी गोली चलाएकाले जवाफी कारवाहीमा मारिएको प्रहरीको भनाइ छ ।

गोली लागेपछि दुबेलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको बताइएको छ । उनको कम्मरमा गोली लागेको छ । दुबे मारिएपछि मध्य प्रदेशको राजनीति तातेको छ ।

पुर्व मुख्यमन्त्री तथा कांग्रेस नेता दिग्विजय सिंहले मुख्यमन्त्री शिवराज सिंह चौहानको आलोचना गर्दै राजनीतिक रहस्यहरू खुल्ने डरले विकास दुबेको गैरन्यायिक हत्या गरिएको आरोप लगाएका छन् ।

घटनाको सीबीआई अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । दुबेको सम्बन्ध अनेकौं राजनीतिकर्मीहरूसँग रहेको बताइन्छ ।

राजनीतिक आडमा उनले अपराध गरिरहेका थिए । हत्या, अपहरण, फिरौती लगायतका गैरकानुनी काममा लिप्त दुबेलाई पक्राउ गर्न गएका ८ प्रहरीको हत्या भएपछि उनलाई समात्नका लागि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्