सुरक्षा निकायलाई हाई अलर्टमा बस्न मुख्यमन्त्री राउतको निर्देशन



जनकपुरधामः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुनसक्ने जोखिम न्युनिकरणका लागि तीनवटै तहको सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज (शुक्रबार) सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेकोले जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

जोखिम न्युनिकरणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारी बारे जानकारी लिदंै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्री राउतले जोखिम न्युनिकरणका लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिए ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्