यातायात व्यवसायीको निर्णय-तत्काल सार्वजनिक सवारी साधन नचलाउने



काठमाडौंः सरकारले सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिए पनि व्यवसायीहरूले यथास्थितिमा सवारीसाधन चलाउन नसकिने बताएका छन् ।

आफूहरूले राख्दै आएको माग सरकारले सम्बोधन नगरेको भन्दै व्यवसायीहरूले तत्काल सवारीसाधन चलाउन नसकिने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज (शुक्रबार) सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनीहरूले तत्काल सवारीसाधन चलाउने नसकिने बताएका हुन् ।

सरकारले सार्वजनिक सवारीसाधन चलाउन भने पनि सुरक्षासम्बन्धी कुनै अवधारणा नल्याएको उनीहरूको भनाइ छ । सार्वजनिक यातायातका सबै सवारीसाधनमा विश्व स्वास्थ्य संगठनले तोकेबमोजितको सुरक्षा मापदण्ड सरकारले पूरा गरिदिनुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्था पनि गर्नुपर्ने उनीहरूको माग छ ।

व्यवसायीहरूले बैंकको किस्ता तथा ब्याजदर पूर्णसरलीकरण गर्नुपर्ने, किस्ता तिर्ने अवधि बढाउनुपर्ने, सवारी करमा छुट हुनुपर्ने, सबै प्रकारको सवारीसाधनमा भौतिक दूरी कायम गर्न नसकिने हुँदा त्यसका लागि उपयुक्त मापदण्ड ल्याइदिनुपर्ने माग गरेका छन् ।

सरकारले अचानक सार्वजनिक सवारीसाधन चलाउन भने पनि व्यवसायीहरूको माग सम्बोधन नभई सञ्चालन गर्न नसकिने महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनले भने,‘हामी सरकारले भनेको कार्यविधिअनुरूप काम गर्न तयार छौं, तर सुरक्षाको ग्यारेन्टी, चालक, सहचालकलगायतको बिमा जस्ता माग सम्बोधन हुनुपर्छ । यथास्थितिमा तत्काल सवारीसाधन निकाल्न सकिँदैन ।’

सरकारले भने यातायात सञ्चालन गर्नका लागि कार्यविधि तयार पारेको सो कार्यविधिमा मास्क, सवारीसाधनमा अनिवार्य स्यानिटाइजरको व्यवस्था, सामाजिक दूरी कायम गर्नुपर्ने छ ।
त्यस्तै ५० प्रतिशत भाडा बढाएपछि व्यवसायीहरूले सुरक्षाको मापदण्ड अपनाएर भए पनि सवारीसाधन चलाउनुपर्ने, यातायात व्यवस्था विभागले बनाएको कार्यविधिलाई कडाइका साथ लागू हुने गरी अनुगमन गरिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
उनले भने, ‘व्यवसायीहरूको थप माग के हो आइतबार पुनः छलफलका लागि बोलाएका छौं । छलफलपछि सवारीसाधन चल्न सक्ने वातावरण बनाउँछौं ।’

प्रतिक्रिया दिनुहोस्