सम्पादक चौधरीसहित जीन्यूजले पनि माग्यो नेपालीसँग माफी



काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर क्षमायाचना गरेको छ ।

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएपछि जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन । यस्तै जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।

नेपालमा याँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेका थिए । विरोध हुन थालेपछि उनले आफ्नो ट्वीट हटाएका हुन् । उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त बिचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट हटाएको उनको भनाइ थियो ।

यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे बनावटी रिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्