म्याग्दी पहिरोमा परी ११ जनाको मृत्यु, २३ जना बेपत्ता



म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको छ । यस्तै २३ जना अझै बेपत्ता छन् । मृतक र बेपत्ता भएकोहरुको अझै पहिचान खुलेको छैन । धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो । बाढीपहिरोले ४३ घर पुरिएका छन् ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।

पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार शुक्रबार मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली शनिबार विहान घटनास्थलतर्फ पैदल हिँडेको छ ।

प्रहरीका अनुसार तल्लो क्षेत्रको मौसम केही सुधार भएकोले केही राहत सामग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्