विश्वकै ठूलो शालीग्राम शिला डुबानमा



काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला डुबानमा परेको छ ।

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकैठूलो शालीग्राम शिला डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीयले बताएका छन् ।

स्थानीय तीलक पराजुलीका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा रहेका पुजारी तथा पण्डितहरु विस्थापित भएका छन् ।

पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयले रातभर जाग्राम बसेका छन् । घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताए ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका व्यापारी तथा सर्वसाधरण त्रसित छन् ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्