आज यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अनुसार शनिबार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण अधिकांश नदीको सतह बढ्दै गएको छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् ।

कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले बताए । कोसीको जल सतह शुक्रबार दिउँसो ६।२३ मिटरमाथि पुगेको छ । ७ मिटर यसको खतराको तह हो ।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ ।

नारायणगढस्थित स्टेसनका अनुसार ११ मिटरको सतर्कता तह पार गरेर ११.१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ । नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७.६८ मिटरमाथि बहाव भइरहेको छ ।

अबका ३ दिन कन्काई, कमला, कोसी, कमला, वागमती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाई स्थानीयवासीलाई सुरक्षित रहन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्