हुलाकी न्यूज डटकममाथि अनलाइन उजुरी



जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा अनलाइन उजुरी दर्ता भएको छ ।

हुलाकी न्युज डटकमले केही दिन यता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चरित्र हत्या गर्ने गरि तथ्यलाई तोडमडोर गर्दै समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा अनलाइन उजुरी दर्ता भएको हो ।

मुख्यमन्त्री सञ्चार सचिवालयका संयोजक अतिश कुमार मिश्रले हुलाकी न्युज डटकम र त्यसका सम्पादक वीपी साहमाथी पत्रकार आचार तथ्यलाई तोडमडोर गरेर निरन्तर समाचार सम्प्रेसन गरेको भन्दै अनलाइन उजुरी दर्ता गराएका हुन् ।

संयोजक मिश्रले पत्रकार आचार संहिता २०७३ को दफा ४ को उपदफा ६,७ उल्लंघन गरेको हुँदा पत्रकार आचार संहिता २०७३ को दफा ६ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२ को उपदफा १ बमोजिम यो उजुरी दर्ता गरि पत्रकार आचार संहिता २०७३को दफा ७ र प्रेस काउन्सिल ऐन २०४८को दफा १२ को उप दफा २ (ख) बमोजिम कारबाही गरि पाँउ भनि निवेदन दर्ता गराएका हुन् ।

हुलाकी न्यूजले सम्प्रेसन गरेको समाचारहरुमा ‘कमिसनको खेलमा मुख्यमन्त्री, १२ ठेक्का–पट्टा कम्पनीकै नाममा बजेट’ शीर्षकमा लेखिएको समाचारमा पत्रकार विपि साहले मुख्यमन्त्री कार्यालयले कम्पनीको नामै तोकेर बजेट व्यवस्थापन गरि भ्रष्टाचार गरेको भनि लेखेकोमा बजेटमा व्यवस्था भएको उक्त शीर्षक गत वर्षको बक्यौता भुक्तानी गर्ने संसदीय समितिको निर्णय अनुसार संसदीय विकास कोषको शीर्षक रहेपनि पित्त पत्रकारिता तहत मा. मुख्यमन्त्री ज्यूको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी उजुरीमा उल्लेख छ ।

त्यसैगरि मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै शीर्षकको समाचारमा मुख्यमन्त्रीको फोटो झुण्ड्याउन २ करोड खर्चिदै भनि लेखेको भएपनि उक्त शीर्षक प्रदेशको मात्र नभई देशकै चर्चित कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानको प्रचार प्रसार एवं जनचेतना मुलक सामग्रीहरुको प्रकाशनको लागी रहेकोमा निजले मुख्यमन्त्रीको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ भने अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी शिर्षकको समाचारमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रयोग गर्न छुट्टयाइएको पानीको बजेटको शिर्षकलाई तोड मडोर गरि मुख्यमन्त्रीले मात्रै पिउछन १३ लाखको पानी भनी मा. मुख्यमन्त्री ज्यूको चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिएको छ ।

प्रेस काउन्सीलले माग दाबी बमोजिम कारबाही नगरे हुलाकी न्युज र त्यसका सम्पादक विपि साह माथि साइबर क्राइमअन्तर्गत कारबाहीको प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिइएको छ ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्