बाढीपहिरोको वितण्डा : म्याग्दीमा १२ जनाको शव भेटियो



काठमाडौं : दुई दिनदेखि लगातार परेको वर्षापछि आएको बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । बाढीपहिरोमा परि दुई दिनमा २६ जनाले ज्यानले गुमाएका छन् भने देशभर ६० जना बेपत्ता भएका छन् । साथै ७२ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् ।

त्यसोत बिहीबार राति परेको वर्षाका कारण म्याग्दीमा गएको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ भने २३ जना अझै बेपत्ता छन् ।

म्याग्दीका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस बेपत्ता भएका थिए भने शुक्रबार तीन जनाको शव भेटिएको थियो ।

धवलागिरि गाउँपालिका ६ मराङमा २१ जनाको मृत्यु भएको छ । त्यसमध्ये १२ जनाको शव फेला परेको छ भने ९ जना घाइतेको उद्धार गरिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको धौलागिरि गाउँपालिका–६ का अध्यक्ष राजाराम उपाध्ययले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।

अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।

यता पहिरोमा हराइरहेकाहरूको खोजि गर्न नेपाली सेनाको हेलिकप्टरबाट उद्धार टोली म्याग्दी पठाइएको छ । शनिबार बिहान पुगेको उद्धार टोलीले अहिलेसम्म १२ जनाको शव फेला पारेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले पहिरोमा हराइरहेकाहरूको खोजि जारी रहेको बताए । नेपाली सेना, नेपाल प्रहरी गरी ५० जनाको उद्धार टोलीले खोजि गरिरहेको उनले बताए ।

सुवेदीका अनुसार अहिलेसम्म क–कसको शव फेला परेको भन्ने पहिचान हुन सकेको छैन । म्याग्दीका विभिन्न ठाउँमा गएको पहिरोले ४० भन्दा धेरै घर पुरिएका छन् । पहिरोपीडितलाई राहत सामग्री उपलब्ध गराइएको पनि उनले बताए ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टा लगातार मनसुनी वर्षा हुने र देशका खोला–खहरेमा आकस्मिक रुपमा पानीको बहाव बढ्ने जनाएको छ ।

यसैगरी गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राविधिकरणका अनुसार आइतबारसम्म गण्डक जलाधार क्षेत्र लगायत सम्पूर्ण कोशी क्षेत्रका प्रमुख नदीहरुमा (भोटेकोशी, सुनकोशी, तामाकोशी, दुधकोशी, तमोर, लिखु, अरुण) बाढी तथा पूरै क्षेत्रमा पहिरोको उच्च सम्भावना छ ।

आगमी ३ दिन कन्काई, कोश, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव बढ्ने छ भने विशेष सकर्तता अपनाउन विपत् व्यवस्थापनाले आग्रह गरेको छ ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्