बैतडीमा एसइईको आन्तरिक मूल्याङ्कन सकियो



बैतडीः लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्कन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरेका हुन् ।

जिल्लामा रहेका १२४ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीको मूल्याङ्कन तालिका शिक्षा विकास तथा समन्वय एकाइमा आइपुगेको एकाइका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।

विद्यालयले प्रथम त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको आधारमा आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाएका छन् । उनले भने,‘विद्यालयहरुले पठाएको आन्तरिक मूल्याङ्कनको नतिजा एकीकृत गरेर बोर्डमा पठाउने तयारी भएको छ ।’

यस वर्ष जिल्लाका ५ हजार ६९४ ले विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् । जिल्लाका दुई हजार ७२८ छात्र र दुई हजार ९६६ छात्राको आन्तरिक मूल्याङ्कन गरिएको हो । गत चैत ६ गतेदेखि हुने तय भएको एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो ।

लकडाउनका कारण रोकिएको एसइई गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नगर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाटै ग्रेड सिट तयार पार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्