३३ किलो सुन प्रकरणः दुबईमा पक्राउ परेका एक जनालाई नेपाल ल्याइयो



काठमाडौंः ३३ किलो सुन प्रकरणमा जोडिएका आरोपी एक जनालाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएपछि युएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आज काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ । उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए। वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ साल पुस २१ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए ।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो । ३३ किलो सुन विमानस्थलबाट बाहिरिएसँगै गायव भएको थियो । उक्त सुन चुडामणि उप्रेती भनिने गोरको समूहले ल्याएको थियो । हाल उनी जेल जीवन बिताइरहेका छन् । उक्त सुन काण्डमा सनम शाक्यको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्