प्रदेश २ मा पछिल्लो २४ घण्टामा संक्रमित थपिएन, ९९ जना डिस्चार्ज



जनकपुरधामः दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित बढने प्रदेश २ मा पछिल्लो २४ घण्टामा कुनैपनि नयाँ संक्रमित फेला परेको छैन ।

कोरोना संक्रमित आज (शनिबार) यस प्रदेशमा नबढेकोले संक्रमितको संख्या ३ हजार ७ सय ८५ यथावत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । संक्रमित मध्ये ३ हजार ५ सय ३८ पुरुष र २ सय ४७ जना महिला रहेको उनले जानकारी दिए ।

उनले भने,‘पछिल्लो २४ घण्टामा एकजना पनि नयाँ संक्रमित बढेका छैनन् भने १० महिला सहित ९९ जना संक्रमितहरु निको भएर आ–आफ्नो घर फर्केका छन् । आज कुनैपनि प्रयोगशालाबाट कोरोना संक्रमितको विवरण आएको छैन् ।’

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा ५ हजार १ सय ३२, सिरहामा ३ हजार १ सय ७२, धनुषामा ४ हजार ६ सय ७९, महोत्तरीमा ३ हजार ५ सय ७८, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ९ सय ६०, बारामा ३ हजार ६ सय ६४ र पर्सामा ७ हजार ४ सय ३८ जना गरि कुल ४७ हजार ४ सय ९४ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ७ सय ८५ जना संक्रमित भएका छन भने ४२ हजार ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ७४, सिरहामा ५ सय ३९, धनुषामा १ सय २८, महोत्तरीमा २ सय ७४, सर्लाहीमा २ सय २४, रौतहटमा २ सय ४४, बारामा ६० र पर्सामा १ सय १० जना गरि कुल १ हजार ६ सय ५३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (शनिबार) मात्रै सप्तरीमा १४, धनुषामा १३, रौतहटमा ३ सय १५, बारामा २५ र पर्सामा २७ जना गरि कुल ३ सय ९४ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ८ र पर्सामा १ सय २४ गरि जम्मा १ सय ३२ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २३ हजार ७ सय ५२ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ५३, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २२ हजार ६ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले २ हजार ९ सय ७१ जनालाई राखिएको छ भने १७ हजार ४ सय ४५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ९ सय ६८ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ७२, सिरहामा ६५, धनुषामा ४९, महोत्तरीमा ९४, सर्लाहीमा ८, रौतहटमा ५४, बारामा ४ र पर्सामा ७ जना गरि कुल ४ सय ५३ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १५, सर्लाहीमा ६ सय ४९, धनुषामा ४ सय ७६, सप्तरीमा २ सय ४७, सिरहामा २ सय ६, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ९९ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ४१ जना, सिरहाका ३९ जना, महोत्तरीका १० जना, सर्लाहीका १ जना र रौतहटका ८ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय ७१, सिरहाका १ सय १५, धनुषाका ३ सय ६८, महोत्तरीका २ सय ३९, सर्लाहीका ५ सय ९०, रौतहटका ६ सय २१, बाराका १ सय १२ र पर्साका १ सय ७३ जना गरि २ हजार ३ सय ८९ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्