अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि



काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अमिताभ बच्चनले आफ्नो आधिकारिक ट्वीटर र फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।

अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।

उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए ।

यसैगरी बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनमा पनि कोरोना पुष्टि भएको छ ।

शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

अभिषेकले ट्वीटमार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् ।

अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् ।

आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्