बिल गेट्सले भने : कोरोनाको खोप धनी देशमा हैन, आवश्यक ठाउँमा पठाऊ



वासिंटन : अर्बपती व्यवसायी तथा समाजसेवी बिल गेट्सले कोभिड १९ को खोप अत्यावश्यक भएका देश र नागरिकलाई पहिले उपलब्ध गराउन आग्रह गरेका छन् ।

खोपका लागि धेरै रकम तिर्नेहरुका लागि नभएर पहिले खोपको आवश्यकता धेरै भएका देश र नागरिकलाई वितरण गर्नुपर्ने उनले बताएका हुन् । ‘यदी हामीले औषधि र खोप कोरोना प्रभावित देश र जनताको सट्टा धेरै पैसा तिर्नेलाई दियौँ भने, यो अन्याय हुनेछ,’ बिल गेट्सले भनेका छन् ।

माइक्रोसफ्टका संस्थापक गेट्सले अन्तर्राष्ट्रिय सहायता समाजबाट आयोजित भिडिओ सन्देश मार्फत शनिबार यस्तो सुझाव दिएका हुन् । ‘समानताको आधारमा वितरण गर्नसक्ने कडा निर्णय गर्नसक्ने नेताहरु हामीलाई चाहिएको छ । न कि, बजार सञ्चालित क्षेत्रमा मात्र,’ गेट्सले भनेका थिए ।

कोभिड १९ को उपचारका लागि अमेरिका र युरोपमा सयौँ खोप कार्यक्रम सञ्चालनमा छन् । जसको अनुसन्धान, निर्माण र परीक्षणका लागि अर्बौँ डलर लगानी समेत भएको छ । तर खोप विकास भइसकेपछि धनी देशहरुमा पहिले वितरण हुनसक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्