झोलुंगे पुलमाथि पानी !



बाजुरा : लगातारको वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगंगा नदीले बाजुराको ताप्रीसेरा, तिपाडा, रापक अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौ पुल उच्च जोखिममा रहेका हुन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा छ ।

बुढीगंगा नदीको ताप्रीसेरामा रहेको झोलुंगे पुलभन्दा माथि पानी बग्न थालेपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । स्थानीय धनराज जैशीले पुल पनि जीर्ण बन्दै गएकाले आवतजावत बन्द भएको बताए । 

त्यस्तै कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल वर्षाको समयमा जोखिम बन्ने गरेको छ । पुलको दुबैतिर रहेको पर्खालसमेत भत्किन थालेको छ । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेको स्थानीयको भनाइ छ । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले जानकारी दिए । 

लगातारको पानीले पुल भन्दा माथि कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकामा आवतजावत गर्न समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिकाका सुब्वा कुबेर शाहीले बताए । 

जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल छन् । पुराना र थोत्रा रहेका झोलुंगे पुल वर्षातको समयमा बाढी र पहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । चार वर्ष पहिले नै केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुल जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा पदमबहादुर सिंहले लेखेका छन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्