बाढीपहिरोबाट यस वर्ष ३० लाख घर परिवार प्रभावित हुने अनुमान



काठमाडौं : नेपालमा मनसुन शुरु भएको करिब एक महिनाभित्र शनिबार बिहानसम्म बाढी र पहिरोबाट ५२ जनाको मृत्यु भएको भएको पुष्टि भइसकेको अधिकारीहरुले जनाएका छन् । आइतबार बिहानसम्म बाढी पहिरोबाट मृत्यु हुनेको संख्या अझै वृद्धि भएको छ । तर, यसको यकिन तथ्यांक सार्वजनिक भएको छैन ।

देशका कतिपय स्थानमा गएका पहिरोमा परेर बेपत्ता हुनेहरुको संख्या बढिरहेकाले यो संख्या अझै वृद्धि हुनसक्ने अधिकारीहरुको भनाइ छ । मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रि आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार नेपालमा गत जेठ ३१ गते मनसुन शुर भएयता शनिबार बिहानसम्म बाढी र पहिरोका १ सय ५८ वटा घटनाको जानकारी हुन आएको छ । ती घटनाबाट २ सय ३६ परिवार प्रभावित भएका छन् । ७३ घरमा पूर्ण र १९ घरमा आंशिक क्षति भएको विवरण पनि केन्द्रले दिएको छ । त्यस्तै ३२ वटा गोठ भत्किएको र ३ सय ७ चौपाया मारिएको केन्द्रले जनाएको छ ।

बाढी र पहिरोको शनिबार बिहानसम्म संकलित विवरण अनुसार करिब एक करोड बराबरको आर्थिक क्षति देखिएको छ ।

बाढीपहिरोबाट बर्सेनी हजारको ज्यान जानुका साथै लाखौं व्यक्ति विस्थापित हुने गर्छ भने यस वर्ष पनि बाढी, पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ ।

यता सरकारले यस वर्ष बाढी, पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोबाट साढे २ लाख घर परिवार, साढे १२ लाख बाढीबाट, कटान, डुबानबाट र पानी जन्य रोग झाडापखाला, हैजाजस्ता महामारीबाट १५ लाख प्रभावित हुने सरकारको अनुमान छ ।

६ महिनाअघि सरकारले स्थापना गरेको प्राधिकरणले पहिरो, बाढी र पानीजन्य रोगबाट हुने क्षति कम गर्न यस वर्ष कार्ययोजना बनाएरै काम थालेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएअनुसार नै कार्ययोजना बनाएरै विपद् व्यवस्थापनका लागि काम गरिरहेको दाबी गरेका छन् ।

केन्द्रका उपसचिव मुरारी वस्तीले देशभरिका नदीहरूमा अहिले पानीको सतह बढिरहेको र विभिन्न स्थानमा थप पहिरो गएको जानकारी आएको बताए ।

उनका अनुसार देशका प्रमुख राजमार्गहरूमा पनि बाढी र पहिरोका कारण अवरोधहरू भएका विवरण आएका छन् ।

उनले भने– ‘हामीले पानीको सतह बढेको र पहिरोको जोखिम क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरू सहित स्थानीय सरकारका प्रमुखहरूलाई पनि सतर्क रहन भनेका छौँ । उहाँहरू पनि सतर्क अवस्थामा हुनुहुन्छ ।’

शुक्रवार अबेर साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढी र पहिरोबाट ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका थिए ।

उनले पीडितहरूको उद्धार तथा राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको पनि बताए ।

‘सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धारमा आवश्यक सुरक्षाकर्मीहरू परिचालित गरिसकेको छ । सङ्घीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको छ र प्रभावितहरूलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्