मास्कमा पहिलो पटक देखिए ट्रम्प



वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्क लगाएका छन् । कोरोनाको महामारी फैलिएयता अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो वटक मास्कमा देखिएका हुन् ।

सार्वजनिक स्थलमा मास्कबिनै उपस्थित हुने गरेका ट्रम्पले शनिबार मेरिल्यान्डस्थित सैनिक अस्पतालको भ्रमणका क्रममा मास्क लगाएका हुन् ।

वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनले घाइते सैनिकहरुलाई भेटेका थिए । यसभन्दा पहिले ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए ।

शनिबार ह्वाइट हाउसबाटै मास्क लगाएर निस्किएर उनी अस्पताल पुगेका थिए । अस्पतालमा धेरै मान्छेसँग भेट हुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् । ट्रम्पले भने, ‘म मास्क लगाउने कुराको विरुद्धमा कहिल्यै पनि थिइनँ । तर मलाई लाग्छ हरेक कुराको एउटा समय र एउटा ठाउँ हुन्छ ।’

कोरोना महामारीको संक्रमण फैलिएसँगै अप्रिलमा अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी) सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो । तर, राष्ट्रपति ट्रम्पले भने आफूले मास्क नलागउने बताएका थिए । उनले आफ्ना सहयोगी र कर्मचारीहरुको नियमित जाँच भइरहेकाले आफूले मास्क लगाउनै नपर्ने जिकिर गर्दै आएका थिए ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्