मंगलबारसम्म भारी वर्षाको सम्भावना, सर्तक रहन महाशाखाको आग्रह



काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । गत बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा सुरु भएको भारी वर्षा मंगलबारसम्म कायम हुने सम्भावना रहेको हो ।

न्यूनचापीय रेखा नेपालको तराई क्षेत्रबाट सोमबारदेखि विस्तारै भारततिर सर्दै जाने देखिएकाले मंगलबारदेखि भारी वर्षाको सम्भावना टर्दै जाने मौसमविद् राजु प्रधानाङले बताए । मौसमविद् प्रधानाङगले भने, ‘सोमबारदेखि न्यूनचापीय रेखा तराईबाट विस्तारै भारततिर सर्दै जाने देखिएको छ । त्यो भएमा भारी वर्षा हुने सम्भावना कम हुँदै जान्छ ।’ तर, मनसुनको मध्य समय भएकाले भारी वर्षाको सम्भावना कम भएपनि मनसुनी झरी भने कायम हुने प्रधानाङगले बताए ।

आइतबार दिउँसोदेखि रातिसम्म प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । तर, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको अनुमान गरिएको छ। देशैभर पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

सोमबार : देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । तर, गण्डकी प्रदेशको एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ ।

यस्तै सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मंगलबारे : देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ ।

यस्तै मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै जसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । तर, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावन छ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्