उपमहानगरको ध्यान गएन, वडाध्यक्षको पहलमा नगरक्षेत्रको फोहोर व्यवस्थापन गरिदैं



जनकपुरधाम : नगरभित्रको फोहोर करिव दश दिनदेखि जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसक्दा नगरक्षेत्र दुर्गन्धित भइरहेको अवस्थामा एक वडाध्यक्षले फोहोर व्यवस्थापनका लागि पहल गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले फोहोर उठाउन नगरक्षेत्रभित्र ७ वटा ट्रयाक्टर र एउटा जेसिबी खटाएका छन् । ल्यान्डफिल साईटको अभावका कारण नगरक्षेत्रको फोहोर विगत दश दिनदेखि व्यवस्थापन हुन सकेको थिएन् । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर नउठाउँदा बजार क्षेत्रमा जत्तातत्तै फोहोरको थुप्रो लागेको थियो ।

उपमहानगरले फोहोर विसर्जन गर्दै अएको स्थान व्यक्तिगत जग्गा रहेकोले फोहोर विर्सजनमा समस्या उत्पन्न भएको भन्दै उपमहानगरपालिकाले विगत दश दिनदेखि बजारको फोहोर व्यवस्थापन गर्न सकेको थिएन् ।

यस्तै समस्याहरुलाई दृष्टिगत गर्दै आफुले व्यक्तिगत पहलमा नगरक्षेत्रको फोहोर व्यवस्थापन तर्फ ध्यान केन्द्रित गरेको वडाध्यक्ष साहले बताए । उनले भने, ‘दश दिनदेखि फोहोर उठन नसक्दा यहाँका जनता आजित भइसकेका थिए । ठाउँठाउँमा फोहोर थुप्रिएको थियो । नगरप्रमुखले कुनै पहल गरेनन् त्यसैले अन्त्यमा म आफै जति सक्छु त्यति आफ्नै लगानीबाट यसलाई व्यवस्थापन गर्छु ।’

वडाध्यक्ष साहले पहिलो चरणमा फोहोर उठाउनका लागि आज (आइतबार) देखि वडा नम्बर १, २, ३, ४, ६, ७ र ९ का वडाध्यक्षहरुसँग समन्वय गरि ति वडाहरुमा दुई जना सफाइ कर्मचारीसहित एउटा एउटा ट्रयाक्टर पठाएका छन् । यी वडाहरु बजारक्षेत्र भित्रको वडा रहेको र यहाँ फोहोरहरु बीच बाटोमै थुपारिएकोले नगरक्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासोको आधारमा आफुले पहलकदमी लिएको उनले बताए । नगरप्रमुखले चासो देखाउन छोडेपछि मैले आफै फोहोर व्यवस्थापनको पहल गरेको छु,’वडाध्यक्ष साहले भने । संकलन गरिएका फोहोरहरु तत्कालका लागि वडा नम्बर–२४ बसहियास्थित आफ्नै जग्गामा राख्ने उनले बताए ।

वडाध्यक्ष साहले आफूहरु निर्वाचित भएको दिनदेखि नै फोहोर व्यवस्थापनका लागि उपमहानगरले आफ्नो जग्गा किन्नुपर्ने आवाज उठाउँदै आईरहेपनि त्यस तर्फ नगरप्रमुख लालकिशोर साहले कुनै ध्यान नदिएको बताए ।

जनकपुरधाम उपमहानगरले यसअघि नगरक्षेत्रको फोहोर वडा नम्बर–१६ मा विसर्जन गर्दै आएको थियो । तर हाल उक्त जग्गा कुनै व्यक्तिको रहेकोले उनले त्यहाँ फोहोर फाल्दा दुर्गन्ध, धुवाँ, धुलोले स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै वरपर बस्नै नसक्ने गरी सास्ती खेप्नुपरेको भन्दै विरोध गरेपछि फोहोर फाल्न छाडिएको हो ।

उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानुुचोक, शिवचोक, जनकचोक, महावीर चोक, राजदेवी मन्दिर नजिक, रामचोक,रामानान्द चोक, पिडारीचोक लगायतका मुख्य चोकहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्